काठमाडौं : संसद्/संविधान सभाको नेतृत्व गरिसकेका दुई नेताबीच राष्ट्रपतिको लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ। नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवास नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस र एमालेको शनिबार बिहान बसेको क्रमशः कार्य सम्पादन समिति र सचिवालय बैठकले पौडेल र नेम्वाङलाई आ-आफ्नो पार्टीको उम्मेदवारको रुपमा चयन गरेको थियो। पौडेललाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने आठ दलको समर्थन छ।
त्यस्तै, नेम्वाङको पक्षमा भने अहिलेसम्म एमालेबाहेक अरु दल खुलेका छैनन्। यी दुवै दलले आफ्ना उम्मेदवारलाई विजयी गराउन आह्वान पनि गर्दैछन्।
शनिबार दिउँसो ३ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। निर्धारित समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको हो।
जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्थाको नेतृत्व गरिसकेका पौडेल र नेम्वाङबीचको प्रतिस्पर्धा भने नेपाली राजनीतिको सबैभन्दा माथिल्लो पदमा विराजमान हुनका लागि हो। नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरेको छ। उसले राष्ट्रिय एकताको प्रवर्धन गर्ने र संविधानको पालना र संरक्षण गर्नु प्रमुख कर्तव्य हुने भनिएको छ।
अब फागुन २५ मा हुने निर्वाचनले दुईमध्ये एक उम्मेदवारलाई शीतल निवासको यात्रा गराउने छ।
पौडेल र नेम्वाङको सभामुखको कार्यकाल
रामचन्द्र पौडेल २०५१ को मध्यावधि निर्वाचनपछि गठित प्रतिनिधि सभामा सभामुख निर्वाचित भएका थिए। उनी २०५१ पुस २ गते सभामुखमा निर्वाचित भएका थिए। पुस ३ गते सपथ खाएर कार्यभार सम्हालेका थिए। उनी प्रतिनिधि सभाको सो कार्यकालभर सभामुख नै रहे।
पौडेल स्थानीय विकास, सूचना तथा सञ्चार, गृह, शान्ति तथा पुनर्निर्माण मन्त्री भइसकेका छन्। उनी उपप्रधानमन्त्री पनि भएका थिए।
त्यस्तै, सुवास नेम्वाङले भने २०६३ मा पुनःस्थापित प्रतिनिधि सभाबाट सभामुखको जिम्मेवारी सम्हालेका हुन्। जनआन्दोलनपछि प्रतिनिधि सभा पुनःस्थापित भएपछि तत्कालीन सभामुख तारानाथ रानाभाटले राजीनामा दिएका थिए। त्यसपछि २०६३ बैशाख ३० गते नेम्वाङ पहिलो पटक सभामुखमा निर्वाचित भएका थिए। उनले त्यसैदिन सपथ लिएर कार्यभार सम्हालेका थिए।
सोही वर्ष माघ १ गते माओवादी समेतको सहभागितामा अन्तरिम व्यवस्थापिका संसद् गठन भयो। माघ ३ गते सो संसद्को सभामुखमा उनै नेम्वाङ निर्वाचित भएका थिए। उनले त्यसै दिन सपथ लिएर कार्यभार सम्हालेका थिए।
नेम्वाङको संविधान अध्यक्ष/सभामुखको जिम्मेवारी पहिलो र दोस्रो संविधान सभामा पनि कायमै रह्यो।
२०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भयो। नेम्वाङ २०६५ साउन ९ मा संविधान सभाको अध्यक्षमा निर्वाचित भएका थिए। संविधान सभाले नै व्यवस्थापिका संसद्को पनि काम गर्ने भएकाले संविधान सभाका अध्यक्ष नै व्यवस्थापिका संसद्को सभामुख हुन्थे। नेम्वाङले पनि सोही अनुसार भूमिका खेले।
२०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनपछि पनि अध्यक्ष/सभामुखको जिम्मेवारी उनलाई नै हात लाग्यो। उनी २०७० फागुन ६ गते अध्यक्ष/सभामुख निर्वाचित भए।
नेम्वाङ भने २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन राज्यमन्त्री र मन्त्री भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?