दमौली : कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो। मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धाका हिसाबले उति चर्चामा रहेनछ यो क्षेत्र। सत्ता-गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको उक्त क्षेत्रमा पौडेलले पाँच हजारभन्दा बढी मतान्तरले एमाले उम्मेदवारमाथि जित हासिल गरे। जुन नतिजा अपेक्षित थियो।
उपनिर्वाचनमा भने तनहुँ- १ को नतिजा अनपेक्षित आउने देखिन्छ। प्रतिस्पर्धाका हिसाबले त्रिपक्षीय बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उक्त निर्वाचन क्षेत्रलाई आफ्नो पक्षमा पार्न बलिया उम्मेदवारहरु उठाएका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई मैदानमा छन्। कांग्रेसनिकट नेविसंघका पूर्व केन्द्रीय सभापति भट्टराई पहिलो पटक संसदमा उक्लिने प्रयासमा हुनेछन्। यसअघि २०७४ तनहुँ-१ (क) बाट प्रदेश सभामा उम्मेदवार थिए तर वाम गठबन्धनले उनलाई जित्न दिएन। कांग्रेसका प्रभावशाली नेताको गृहक्षेत्र परेका कारण संघीय संसदमा आउनका लागि बाटो नै बनेन।
सत्ता साझेदार अन्य दलको समेत सहयोगका साथै कांग्रेसको आफ्नै पनि प्रभावशाली क्षेत्र रहेकाले भट्टराईले जितको अपेक्षा गर्नु स्वभाविक हो। तर उनलाई जिताउनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा नै फिल्डमा पुगेका छन्। मनोनयन दर्ता गराउने क्रममा थापाले नेविसंघको नेतृत्व गरेर जनआन्दोलनका समयमा संयुक्त विद्यार्थी आन्दोलन जग हालेको बताए। उनले भने, ‘गोविन्द भट्टराई हराउने, बिलाउने र डराउने सांसद बन्दैन। देखिने, सुनिने र भेटिने सांसद बन्छ।’
तर, भट्टराईलाई संसद्मा प्रवेश सहज भने देखिँदैन। आम निर्वाचनबाट एकाएक उदाएको रवि लामिछाने नेतृत्वको रास्वपाका डा स्वर्णीम वाग्ले र एमालेका सर्वेन्द्र खनाल चुनौती बन्न सक्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु राणाका कारण पार्टी नै छाड्नुपरेको बताउँदै डा वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन्। रास्वपाप्रतिको भरोसा मात्रै होइन, कांग्रेसभित्रकै असन्तुष्टिलाई समेत पुँजीकृत गर्नेगरी उनी सक्रिय हुनेछन्।
उनले उम्मेदवारीका क्रममा चितवन- २ मा जस्तै तनहुँ- १ ले पनि सन्देश दिनुपर्ने बताएका छन्। उनले भने, ‘अब सामान्य मतले जितेर पुग्दैन। सानदार रुपमा जित्नुपर्छ। चितवन-२ मा जस्तै तनहुँ- १ ले सन्देश देओस्। किनकि, बिरामी परेको राज्यव्यवस्था र अर्थ व्यवस्थाका लागि सर्जरी नै चाहिन्छ, सामान्य झारफुकले पुग्दैन।’
डा वाग्लेका लागि भोट माग्न पार्टी सभापति लामिछाने पनि चितवन-२ मा मनोनयन दर्ता गरेर तनहुँ- १ पुगेका थिए। जहाँ उनले डा वाग्लले अर्थतन्त्र राम्रोसँग छामेको बताउँदै देशले खोजेको उम्मेदवार आफूहरुले दिएको बताए। उनले भने, ‘उहाँ स्वतन्त्र उठेको भए पनि पार्टीबाट उहाँलाई नै मत दिने निर्णय गर्थें। जिताउन पहल गर्थें। मेरो उम्मेदवारलाई फेरि पनि संसद् छिर्नुहोला। आज आवश्यकता परेको डा वाग्लेको हो भन्थें।’
गएको निर्वाचनमा राष्ट्रपति पौडेललाई नजिकबाट चुनौती दिएको एमालेले नेपाली प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिएको उक्त क्षेत्रमा एमालेले आफ्नै मत कायम राख्दा पनि जित्न सक्ने गणित एमालेको हो। त्यसैमाथि उम्मेदवार खनालले आफूले ३० वर्ष देशका लागि गरेको सेवाको कदर हुने बताएका छन्। उनले भने, ‘मैले ३० वर्ष राष्ट्रसेवक भएर काम गरेको छु। विवेकी मतदाताबाट जिम्मेवारी प्रदान हुनेछ भन्ने आशा छ।’
विगतको अंकगणित र सम्भावना
रामचन्द्र पौडेल उक्त क्षेत्रबाट विजयी भएका हुन्। माओवादी लगायतका दलको समर्थन प्राप्त हुँदा उनले २५ हजार ३६१ मत पाए। उनलाई नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मतसहित प्रतिस्पर्धा गरे। तेस्रो नम्बरमा कांग्रेसकै पूर्वनेता गोविन्दराज जोशी थिए। उनले स्वतन्त्र उम्मेदवारका रुपमा ६ हजार ८८६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीले विकास सिग्देललाई टिकट दिएको थियो। सार्वजनिक पहिचान बनिनसकेका सिग्देलले ६ हजार ४४ मत प्राप्त गरे।
यसरी हेर्दा फेरि पनि माओवादीको समर्थन भएकाले कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो छैन। तर गत निर्वाचनमा पौडेलले कांग्रेसको मात्रै नभई व्यक्तित्वको मतसमेत प्राप्त गरेको देखिन्छ। जुन समानुपातिक मतसँग तुलना गर्दा थाहा लाग्छ। कांग्रेसले तनहुँ- १ मा समानुपातिक मत जम्मा २० हजार १ सय ५८ ल्याएको छ। यसैगरी एमालेले १६ हजार ६ सय ८३ मत पाएको छ।
यी दुई ठूला दलका उम्मेदवारले हच्किनुपर्ने आँकडा समानुपातिकमा देखिन्छ। जहाँ रास्वपा माओवादी केन्द्रलाई पाँच हजारभन्दा बढी मतले उछिनेर १२ हजार ७ सय ७३ मत ल्याउँदै तेस्रो ठूलो दल बनेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले गोविन्दराज जोशीको कारबाही फिर्ता गर्ने निर्णय लिएको छ। तर जोशीले त्यसलाई चुनावी चाल भन्दै सहयोग नगर्ने संकेत देखाएका छन्। उनले कांग्रेस त्यागेर मैदानमा उत्रिएका डा वाग्लेलाई सघाउँदा रास्वपा अझ मजबुत बन्छ।
रास्वपाले कांग्रेसका भोट तान्ने अवस्थामा उक्त पार्टीले पनि विजयी हासिल गर्न सक्छ। एमालेले आफ्नो मत मात्रै जोगाउँदा पनि त्रिपक्षीय प्रतिस्पर्धामा बाजी मार्न सक्छ भने कांग्रेसले आफ्नो मतलाई तलमाथि हुन नदिँदा नतिजा पक्षमा पार्ने सम्भावना छँदैछ।
तनहुँ- १ मा उम्मेदवारी दिएका मुख्य दलका तीनै नेता परिचित अनुहार हुन्। उनीहरुले अबको २० दिन नतिजा आफ्नो पक्षमा पार्न गर्ने परिश्रम पनि त्यही तहको हुनेछ। जसले गर्दा तनहुँ- १ को चुनाव रोचक बन्दैछ भने नतिजा आकलनबाहिर पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?