उपनिर्वाचन हुने ३ क्षेत्रको चुनावी अंकगणित : चितवन, बारा र तनहुँमा के छ अवस्था ?

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको ५ महिनापछि नै तीनवटा क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि खाली भएको तनहुँ– १, उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि खाली भएको बारा– २ र नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद खारेज भएको चितवन– २ मा उपनिर्वाचन हुन लागेको हो ।

तीनवटै क्षेत्रमा यसपटक चर्चित र हेभीवेट उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । चितवन– २ राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् । यी तीनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

तनहुँ– १ मा कांग्रेसबाट नेविसंघका पूर्व सभापति एवं तरुण दलका उपाध्यक्ष गोविन्द भट्टराई, एमालेबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्ले प्रतिस्पर्धामा उत्रिएका छन् ।

बारा– २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन् ।

उनलाई टक्कर दिन सिके राउतको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल र रास्वपाबाट पूर्व डीआईजी रमेश खरेल चुनावी मैदानमा छन् ।

यस्ता थिए ४ मंसिरका प्रतिस्पर्धा

तनहुँ– १ 

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ– १ बाट कांग्रेसका रामचन्द्र पौडेलले ५ हजार ३८० मतान्तरको जीत निकालेका थिए ।

उनले २५ हजार ३६१ मत ल्याएका थिए । निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरको १९ हजार ९८१ मत आएको थियो ।

पौडेलसँग कटुतापूर्ण सम्बन्ध व्यहोर्दै आएका कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उठेर ६ हजार ८८६ मत प्राप्त गरेका थिए ।

यसपटक उनले उम्मेदवारी दिएका छैनन् । अन्य ठाउँमा लहर आए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत मात्रै ल्याएका थिए ।

समानुपातिकतर्फ ४ मंसिरमा तनहुँ १ मा कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३, माओवादीले ७ हजार ३२६ र राप्रपाले ३५७७ मत प्राप्त गरेका थिए ।

निर्णायक देखिने ब्यास नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएको दीपकराज जोशीविरुद्ध साँघुरो जीत हात पारेको थियो । तनहुँ– १ मा ब्यास नगरपालिकाका १ देखि ४ र ७ देखि १४ गरी १२ वटा वडा पर्छन् ।

स्थानीय तह निर्वाचनमा भानु नगरपालिका र देवघाट गाउँपालिका कांग्रेस, आँबुखैरेनी माओवादी केन्द्र र बन्दिपुर गाउँपालिका एमालेले जितेका थिए ।

चितवन– २

टेलिभिजन प्रस्तोता हुँदै गर्दा पार्टी खोलेको छोटो समयमा रवि लामिछानेले ४ मंसिरमा चितवनबाट शानदार जीत दर्ता गरेका थिए ।

१६५ निर्वाचनमा क्षेत्रमध्ये चितवन २ मा रवि रविको जीत सबैभन्दा फराकिलो हो । रविले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत दर्ता गरेका थिए ।

लामिछानेको ४९ हजार ३०० मत आउँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए ।

४ मंसिरमा रविले प्रत्यक्षमा ४९ हजार भोट कटाउँदा समानुपातिकमा भने रास्वपाले ३६ हजार मात्रै भोट ल्याएको थियो ।

कांग्रेस–एमालेकै कार्यकर्ताले प्रत्यक्षमा रवि र समानुपातिकमा आ–आफ्ना दललाई भोट दिएको समानुपातिक मतले देखाउँछ ।

प्रत्यक्षमा साढे १४ हजार भोट ल्याएको एमालेको समानुपातिकतर्फ १७ हजार भोट आएको थियो ।

चितवन– २ को प्रतिनिधिसभा क्षेत्रमा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबै वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको मेयरमा एमालेले कांग्रेसलाई १४३ मतको झिनो अन्तरले पराजित गरेको थियो ।

इच्छाकामनामा पनि एमालेले नै जितेको थियो । कांग्रेसको सहयोगमा माओवादीले जितेको भरतपुर महानगरपालिका १ देखि ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पनि यो क्षेत्रमा पर्छन् । धेरै मतदाता रहेका महानगरका यी वडा नै निर्णायक हुन् ।

महानगरका वडामा कांग्रेसको प्रभाव रहे पनि रवि लामिछानेले महानगरकै वडाबाट अत्यधिक भोट ल्याएका थिए ।

यसपटक कांग्रेस र एमाले दुवैले जिल्लाको राजनीतिमा परिचित अनुहार उठाएकाले आफ्नो भोट सुरक्षित गर्ने दाबी गरेका छन् ।

बारा– २

४ मंसिरमा बारा २ को मतपरिणामको दृश्य फरक थियो । एमालेले साथ दिएको जसपाका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत प्राप्त गरी विजयी भएका थिए । तर उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका शिवचन्द्र कुशवाहाले पनि हाराहारी मत ल्याएका थिए । उनी ३५४ मतले पराजित हुन पुगे । कांग्रेसले माओवादीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

तर, बारा २ मा स्वतन्त्रबाट उठेर अन्य तीन उम्मेदवारले पनि राम्रो मत बटुलेका थिए । रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र रविन्द्रप्रसाद यादवले १० हजार ७५० र अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याउन सफल भएका थिए ।

जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत मात्रै ल्याएका थिए । अघिल्लोपटक माओवादीबाट उठेका यिनै कुशावाहालाई जनमतले अहिले उपेन्द्रविरुद्ध प्रतिस्पर्धामा उतारेको हो । सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग भारी मतले पराजित भएपछि उपेन्द्र यसपटक बारा आएका हुन् ।

स्वतन्त्रबाट ११ हजार हाराहारी मत ल्याउने रामकिशोर जसपामा प्रवेश गरेका छन् ।  सत्ता गठबन्धन, स्वतन्त्रका नेताको पार्टी प्रवेशका कारण यादव जित्नेमा ढुक्क छन् । तर, कुशवाहा स्थानीय उम्मेदवार भएको भन्दै उपेन्द्रलाई हराउने दाबी गरिएको छ ।

समानुपातिकतर्फ बारा २ मा ४ मंसिरमा जसपाले १३ हजार २४२, कांग्रेसले ११ हजार १७९, एमालेले ९ हजार ११३ प्राप्त गरेका थिए । जनमतले ८ हजार ८४६, लोसपाले ४२३५, नागरिक उन्मुक्तिले ३७९४, माओवादीले ३२६५ मत मात्रै आएको थियो ।

त्यसअघि भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रभित्र पर्ने पालिकामध्ये जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो ।

कांग्रेसले महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिकामा जितेका थिए ।

कुन निर्वाचन क्षेत्रमा कुन पालिका र वडा पर्छन् ? 

बारा– २ 

बारा २ मा करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई, पचरौता नगरपालिकाका सम्पूर्ण वडा पर्छन् । त्यस्तै कोल्हवी नगरपालिकाको वडा नम्बर ८ पनि बारा २ मै पर्छ ।

गत स्थानीय तहको निर्वाचनमा जसपाले करैयामाई, देवताल गाउँपालिका जितेको थियो । कांग्रेसले महागढीमाई नगरपालिका र एमालेले पचरौता नगरपालिका जितेका थिए ।

तनहुँ– १

देवघाट, आँबुखैरेनी र बन्दिपुर गाउँपालिका पर्छन् । त्यस्तै, भानु नगरपालिका र ब्यास नगरपालिकाका १ देखि ४ र ७ देखि १४ गरी १२ वटा वडा पर्छन् ।

चितवन– २ 

चितवन– २ मा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका पूरै वडा पर्छन् । भरतपुर महानगरपालिकाका १ देखि ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्छन् ।

लोकान्तर

sharethis sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?