
क्रिप्टोकरेन्सी (Crypto currency) शब्द दुई वटा अंग्रेजी शब्द जोडिएर बनेको छ। क्रिप्टो अर्थात अदृश्य र करेन्सी अर्थात मुद्रा। यसको शाब्दिक रुपमा पनि क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रुपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। सिक्का र नोटहरुको जस्तो यसको भौतिक अस्तित्व हुँदैन ।अर्थात् सिक्का र नोटजस्तो छुन, पट्याउन वा खल्तीमा राख्न मिल्दैन।
क्रिप्टोकरेन्सी कारोबारहरुलाई सुरक्षित राख्न, तिनलाई रुजू गर्न र नयाँ मुद्रा निष्काशन गर्न संकेताक्षरको सहारा लिइन्छ। क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका सीमित प्रविष्टि (इन्ट्री) हुन् जसलाई हामीले खास पूर्वशर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन्।
कसरी जन्म भयो (अदृश्य मुद्रा) क्रिप्टोकरेन्सी ?
सन् २००८ मा एउटा अज्ञात व्यक्तिहरु, ‘सातोही नाछामोटोले ‘बिट कोइन’ एउटा भिन्न समूहबीचको विद्युतीय नगद प्रणाली’ नामक श्वेतपत्र जारी गरेपछि ‘बिट कोइन’ को जन्म भयो।
अहिले सयौँ थरिका गुप्त मुद्राहरु थपिए पनि वास्तवमा दुईवटा मुद्राहरु (१) बिट कोईन (२) इथेरियमकै लोकप्रियता, महत्व एंव त्यसका अवश्यंभावी अवसरहरुबाट संसार नै एक किसिमले लालायित बन्दै गएको छ। किनभने ती दुबै थरीका अदृश्य मुद्राहरु बन्ने संरचना/आधार भनेको ‘ब्लकचेन’ हो। अर्थात बिट कोइन र इथेरियम ‘मुद्रा’ हुन् भने ‘ब्लकचेन’ त्यसको आधार प्रविधि हो जुन अत्यन्त विकेन्द्रीत सञ्जालमार्फत सञ्चालित एक नौलो पारदर्शी र सुरक्षित संरचना हो।
‘बिट कोइन’ सरकारी निकाय वा बैंकहरुबाट निर्देशित भएर, विद्युतीय (डिजिटल) (क्रिप्टोग्राफी) को प्रमाणमा आधारित भुक्तानी पद्धति हो। जहाँ सरकारको कर्मचारी वा बैंक वा अन्य कुनै पनि चलअचल सम्पतिको कारोबार गर्नेहरुको आवश्यकता पर्दैन।अदृश्य मुद्रा कुनै पनि व्यक्तिको नियन्त्रणमा हुँदैन, तिनीहरुको खाता सधैँ खुल्ला हुन्छ। सम्पूर्ण खातावाला र तिनीहरुको बहीखाता विकेन्द्रित र पारदर्शी हुन्छ। अदृश्य मुद्राको कुनै भौतिक रुप पनि हुँदैन तर आम नागरिकले आफ्नो भोग चलनको निम्ति सामान्य पैसा सरह नै प्रयोग गर्न सक्दछन ।
सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ ।सन् २००९ को शुरुमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन् । नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन् ।
हाल विश्वका ५८ वटा मुलुकमा बिटक्वाइन किन्न मिल्ने १८०० वटा एटिएमहरु रहेकाछन्। सन् २०१० मा विश्वमा पहिलोपटक २ वटा पिज्जा किन्न कसैले १० हजार बिटक्वाइन खर्चेको थियो। अचेल केही मुलुकमा पिज्जाहट, केएफसी र सबवेजस्ता विश्वव्यापी फुड चेनहरुले समेत बिटक्वाइनबाट भुक्तानी स्वीकार्न थालिसकेका छन्।
विगतमा क्रिप्टोकरेन्सीलाई कारोबारको माध्यमको रुपमा स्वीकार गर्न व्यापार, व्यवसायहरु डराउने गर्थे । तर, अहिले अवस्था फेरिईसकेको छ। अहिले अनलाइन वा अफलाइन दुबैमा धेरै व्यापारीहरु छन् जसले बिटक्वाइनलाई भुक्तानीको एक साधनको रुपमा स्वीकार गरिसकेका छन् । पश्चिमा मुलुकमा ठुल्ठुला अनलाइन बिक्रेतादेखि साना स्थानीय पसल, बार र रेष्टुरेण्टमा बिटक्वाइन चल्न थालिसकेको छ। साथै, होटल, उडान, गहना, कम्प्युटर आदिका लागि मात्र होइन कलेजको फी तिर्नसमेत बिटक्वाइन चल्न थालिसकेको छ। बिटिफाई र ओपनबजारजस्ता केही अनलाइन शपिङ्ग साइटहरु छन् जसले केवल क्रिप्टोकरेन्सीमात्र स्वीकार गर्छन्।किनमेलका अतिरिक्त क्रिप्टोकरेन्सीलाई लगानी गर्नमा समेत प्रयोग गर्न सकिन्छ। अहिले शेयर बजारपछि सबैभन्दा आकर्षक लगानी क्रिप्टोकरेन्सीमा मान्न थालिएको छ।
नेपालमा क्रिप्टोकरेन्सीको सम्भावना र फाईदा ?
२०७४ साल साउन २९ गते नेपाल राष्ट्र बैंकले एउटा भित्ते सूचना जारी गर्दै ‘नेपालमा बिट कोइन’ कारोबार गैरकानुनी हुने घोषण गर्यो र बैंकले त्यसको निम्ति नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ लाई आधार मान्यो।जसको कारण नेपालमा क्रिप्टोकरेन्सीको कारोबारमा गैरकानुनी भन्दै रोक लगाएका छन् ।
नेपालका विज्ञहरुको भनाइलाई आधार मान्ने हो भने नेपालमा‘ब्लकचेन’को प्रयोग हुने मुख्य क्षेत्र भ्रष्टाचारग्रस्त भूमि, मालपोत, राजस्व, कर कार्यालयहरु हुन् भने ‘कृषि क्षेत्र’ को सर्वाङ्गीण उन्नतिको निम्ति ‘ब्लकचेन’आधारस्तम्भ निर्माण गर्न विशेष कार्यक्रम आवश्यक छ। कृषिमा ‘ब्लकचेन’ को प्रयोग गर्न किसानदेखि उपभोक्ता वर्गलाई सक्षम बनाउन जनशक्ति निर्माणार्थ ‘गणित’ को निषेधको अन्त्य हुन जरुरी छ भन्ने तर्क राख्दछन ।
त्यसो त नेपालमै मात्र नभई अति विकासित तथा बिकासन्मुख देशहरुमा पनि सन् २००८ देखि इष्टोनिया सरकारले ब्लकचेनको परीक्षण प्रयोग सुरु गर्यो र सन् २०१२ देखि त्यहाँको न्याय प्रणाली, स्वास्थ्य सेवा, कर प्रणाली ब्लकचेनमा आधारित छ। जर्जिया गणराज्यले आफ्नो राज्यको जाग्गा सम्बन्धि कारोबार ब्लकचेन मार्फत सुरक्षित राख्दै जना विश्वास आर्जन गरिरहेको छ । बेलायतले ब्लकचेनलाई घरजग्गा कारोबारमा प्रयोग गर्न सम्भाव्यता अध्ययन गर्दैछ भने क्यानडाको केन्द्रीय सरकारले ब्लकचेन मार्फत ठेक्कापट्टालाई पारदर्शी बनाउने परीक्षण गर्दैछ। अफ्रिकाका इथोपिया, घाना, केन्या, नाइजेरिया, उगाण्डा, दक्षिण अफ्रिका लगायतका सरकारहरु ब्लकचेनको प्रयोगबाट कसरी कृषि, भूमि, करसम्बन्धी क्षेत्रहरुमा प्रयोग गर्दा जनतालाई फाइदा पुग्न सक्छन्, खोज गर्दैछन्। संयुक्त राज्य अमेरिकाको केन्द्रीय सरकारदेखि विभिन्न राज्य सरकारहरुले ब्लकचेनलाई चुनाव, कर जग्गा, सुरक्षा, स्वास्थ्य, उद्योग, औषधि आदि क्षेत्रहरु समेट्ने आधारहरु निर्माण गर्दैछ। चीनले सन् २०२१ बाट सुरु हुने तिनीहरुकै पञ्चवर्षीय योजनामा ब्लकचेनलाई एउटा प्रमुख आधार ठानेको छ भने भारतको नीति आयोगले भूमि, औषधी आपूर्ति सुधार्ने र धोखाधडी/जालसाजीलाई न्यूनीकरण गर्न ब्लकचेनको प्रयोग गर्नेतर्फ अग्रसर देखिदैछ। भर्खरैमात्र अफगानिस्तान सरकारले ब्लकचेन मार्फत नक्कली औषधी कारोबार रोक्ने प्रणाली सुरु गरेको थुप्रै समाचार सुन्न र पढ्न पाईन्छ ।
त्यसैले दृश्य मुद्राहरुको चलखेलमा ‘अदृश्य मुद्रा प्रविधि’ लाई थन्काएर विचौलियाहरुको संरक्षणमा लिप्त छन्। जब कि देशको संसदमा ‘ब्लकचेन’ मार्फत कसरी भ्रष्टाचारका स्रोतहरु र बिचौलियाहरु अन्त्य गर्न सकिन्छ भनेर संवाद हुनुपर्ने थियो।
विभन्न :स्रोतको सहयोगमा साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?