दमाैली : तनहुँमा आज शुक्रबारदेखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु गरेको छ । टाइफाइड विरुद्धको देशव्यापी कार्यक्रम बमोजिम स्वास्थ्य कार्यालय तनहुँले पनि जिल्लामा यो अभियान सुरु गरेको हो ।
व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा अभियानको शुभारम्भ गरिएको छ ।
तनहुँमा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि दशवटै स्थानीय तहमा नौ सय ६८ जनशक्ति परिचालन गरिएको तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा चैत २५ गतेदेखि चैत २८ गतेसम्म खोप अभियान संचालन हुनेछ । यस्तै शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भानु नगरपालिकामा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म सो खोप अभियान हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानका क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइनेछ भने पछि यो खोपलाई नियमित खोपको रुपमा सञ्चालन गरिनेछ । यसअघि बालबालिकालाई १२ वटा खोप दिइँदै आएकामा अब टाइफाइड विरुद्धको खोप थप गरी १३ वटा खोप प्रदान गरिनेछ । दादुरा रुबेला विरुद्धको दोस्रो खोप लगाउने बेला १५ महिनाका बालबालिकालाई यो खोपको मात्रा दिइने अधिकारीले जानकारी दिए ।
टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भएपनि विस्तारै ठिक हुने स्वास्थ्यकर्मी बताउँछन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने टाइफाइडका मुख्य लक्षण हुन् ।
टाइफाइड ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएतापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?