काठमाडौं : स्थानीय तहको चुनावी प्रचारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्किने भएका छन् ।कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बुधबारदेखि २६ वैशाखसम्म देउवा सहभागी हुने कार्यक्रम सार्वजनिक गरेको छ ।
कांग्रेसले २१ गते विराटनगर, २२ गते चितवनको भरतपुर, २३ गते काठमाडौं, २४ गते बुटवल, २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा चुनावी सभाको आयोजना गरेको छ । २५ गते पोखरा र तुलसीपुर, २६ गते कैलालीको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना गरेको छ ।
यससँगै प्रधानमन्त्री आफैं अमूक दलका लागि भोट माग्दै चुनावी सभाहरुमा सहभागी हुन निर्वाचन आचारसंहिताले रोक्छ कि रोक्दैन ? भन्ने प्रश्न उब्जिएको छ ।
तर मन्त्रीहरु मात्र होइन, प्रधानमन्त्री आफैं चुनावी अभियानमा सहभागी हुने भएका छन् । निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराई भन्छन्, ‘प्रधानमन्त्रीको हैसियतमा कुनै पनि चुनावी कार्यक्रममा जान पाइँदैन । तर राजनीतिक दलको पदाधिकारीको हैसियतमा सहभागी हुन आचारसंहिताले रोक्दैन ।’
प्रधानमन्त्री देउवाले चुनावी प्रचार अभियानमा सरिक हुने हुँदा आफू दलीय हैसियतमा सहभागी भएको प्रष्ट भन्नुपर्ने र त्यसअनुसारको व्यवहार पनि गर्नुपर्ने भट्टराई बताउँछन् ।
‘सरकारी सेवा सुविधा नलिएर प्रधानमन्त्री र मन्त्रीहरु दलीय पदाधिकारीको हैसियतमा चुनावी सभामा सहभागी हुन पाउँछन्’, उनले भने । सरकारी गाडीमा झण्डा हल्लाउँदै चुनावी प्रचारमा गएमा भने आचारसंहिता आकर्षित हुने र त्यसमा आयोगले चासो राख्ने उनले बताए ।
एक आयुक्तका अनुसार विगतमा पनि मन्त्री, प्रधानमन्त्री चुनाव प्रचारमा जाने गरेका थिए । त्यसैले आयोगले सरकारी सेवासुविधा प्रयोग नगर्ने तथा मतदाता प्रभावित पार्न राजकीय पदको दुरुपयोग नगर्ने गरी अनुमति लिएर जान दिने समझदारी भएको छ । प्रधानमन्त्री देउवाले पनि अनुमति लिएका छन् ।
चुनावभर मन्त्री नरहेको तर्क !
मंगलबार संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुरको हेटौंडामा पाँचदलीय गठबन्धनको नगर कमिटीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भए
मन्त्री खतिवडा बा २ झ ४०२५ नम्बरको सरकारी गाडी चढेर झण्डा हल्लाउँदै कार्यक्रम स्थलसम्म पुगेका थिए । जबकि मन्त्रीको हैसियतमा उनलाई चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सरिक हुन निर्वाचन आचारसंहिताले रोक्छ ।
खतिवडाले भने आफू एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी सदस्यको हैसियतमा कार्यक्रममा सरिक भएको प्रष्टीकरण दिए । उनले भने, ‘म पार्टीको स्थायी कमिटी सदस्यको हैसियतमा यहाँ आएको हुँ । चुनाव अवधिभर म मन्त्रीको हैसियतमा छैन, निर्वाचन आयोगबाट अनुमति नै लिएर आएको हुँ । मेरो बारेमा केही लेख्न परे स्थायी कमिटी सदस्य भन्नुहोला ।’
निर्वाचन आयोगले पनि मन्त्री खतिवडाले भने जस्तै पार्टी पदाधिकारीको हैसियतमा चुनाव प्रचारमा सहभागी हुन पाउने भनेको छ । तर सरकारी सुविधा प्रयोग गर्न पाइने छैन । खतिवडाले भने सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।
आचारसंहितामा के छ ?
निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था छ । जहाँ कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न नहुने उल्लेख छ ।
आफैं उम्मेदवार हुने भए राजीनामा दिनुपर्ने प्रावधान लागू गरिएको छ । निर्वाचन आयोगका अधिकारीहरु यस्तो व्यवस्था सबै उम्मेदवारलाई प्रतिस्पर्धाको समान वातावरण सिर्जना गर्नका लागि राखिएको बताउँछन् ।
तर, मन्त्रीहरु खुलेआम राजनीतिक दल र उम्मेदवारको पक्षमा खुलिरहँदा आयोग उजुरी आएको छ वा छैन ? भनेर हेरिरहेको छ । उजुरी आए पनि हेलिकप्टर, सरकारी गाडी प्रयोग गरे–नगरेको हेरेर ध्यानाकर्षण गराउने, सचेत गराउने वा स्पष्टीकरण सोध्ने नीति लिएर बसेको छ ।
चितवनको भरतपुरमा चितवनमा पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई मनोनयन फिर्ता गराउने प्रयासका लागि गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठ नै पुगेका थिए । यो विषयमा आयोगमा उजुरी पर्यो । लगत्तै आयोगले गृहमन्त्रीको गतिविधिलाई नोटिसमा राखिएको भनेर सार्वजनिक अभिव्यक्ति दियो । तर, मन्त्रीद्वयलाई सचेतसम्म गराएन ।
आयोगका अधिकारीहरुका अनुसार मन्त्रीद्वय चितवन गएको पुष्टि भयो । तर, चितवन जाँदा नियमित उडानकै जहाजमा गएको पाइयो, कुनै उम्मेदवारलाई दबाव दिएको भन्ने उजुरी पुष्टि हुने आधार नभेटिएकोले आयोगले केही पनि नभनेको हो ।
‘कसैले मलाई दबाव दियो भनेर आएको भए एउटा कुरा हुन्थ्यो । दबाव दिइरहेका छन् भनेर परेको उजुरीका लागि पर्याप्त प्रमाण नभेटिएपछि आयोगले केही भन्ने कुरा भएन’, एक आयुक्तले भने ।
अनालाइन खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?