हराउदै गएको असारे मौलिकता

दमौली :  डोको भरी पहेंला पाकेका केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेका चिराखे धानका चिउरा, हतभरी चुरा, गुन्यू चोली लगाएका हातमा पहेको धानको बीउ बोकेर असारे गीत गाउदै हिलोमा छ्पकछपक रोपिएका धानका गाँज । आहा !असार १५ साँच्चिकै नेपाली किसानका लागि एउटा छुट्टै पहिचान बोकोको चाड मानिन्छ ।

असारे गीतको सुमधुर भाकाका साथमा छ्याप्प छ्याप्प धान रोप्दा हिलोमा बाउसे र रोपाहार बिच माया साटासाट आपसी सद्भाव र रमाइलोपनको छुट्टै मज्जा हुन्छ । नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ।

परम्परादेखिनै असार १५ को बेठी लगाइ राजा माहाराजाहरु समेत यो कार्यमा संलग्नता रहने चलन छ । दही चिउरा खाँदै गाउँका ठुलाबढाको बवसाल खेतमा जम्मा भएर बेठी लगाउँदै रोपाईं गर्ने चलनले यसको लोकप्रियता व्यापक छ ।

असार १५ को दिन कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई बिर्सन खोज्छन् ।

तर अहिले असारे गीतको गाउँदै बेठी लगाइ खेती गर्ने चलन बिस्तारै लोप हुँदै गएको छ ।

असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। यो विभिन्न भेग अनुसार फरक–फरक तरिकाले बुझ्ने गरिन्छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भनि पश्चिमाञ्चलतिर ‘काँठेभाका’ भनिन्छ। लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन परम्परादेखि नै चलेको पाइन्छ । यस भाकाका फाँकीहरू १६/१६ अक्षरका हुन्छन् र हरेक पाउका दस अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानेर यो भाका गाइन्छ।

थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गर्दै गाइने असरे गीत पछिल्लो पुस्ताले ग्रहण नगर्नाले यो परम्परा लोप हुन्छ कि भन्ने चिन्ता लागेको बताउछ  ।पछिल्लो समय असारे गीत गाउदै बेठी लगाउने चलन हराउदै गएकोमा अघिल्लो पुस्तामा निराशा देखिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?