कोशी प्रदेशको समस्या देउवा र कोइरालाको कमजोरीले होः विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा आएको समस्या कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको कमजोरीका कारण भएको बताएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग धुम्बाराहीमा पार्टी उपसभापति र महामन्त्रीहरूको छलफलपछि शर्माले यस्तो बताएका हुन् । ‘कोशी प्रदेशमा आएको समस्या सभापतिको कमजोरी र अर्का नेता शेखर कोइरालाको कमजोरी र संस्थागत प्रक्रियालाई ख्याल नगर्दा समस्या आएको छ, यसको हल खोजेर जानुपर्छ,’ शर्माले भने, ‘कांग्रेसले संयमताका साथ कोशी प्रदेशको हल खोज्नेछ ।’

बैठकमा पार्टी सभापति र नेता कोइरालाको कमजोरीका बारेमा केलाएको उनको भनाइ छ । गठबन्धनमा प्रतिबद्ध छौँ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, सभापति देउवा र नेता कोइरालाले बालुवाटारमा गरेको हस्ताक्षरयुक्त विज्ञप्तिप्रति आफूहरूको विमति रहेको शर्माले बताए ।

गठबन्धनप्रति प्रतिबद्धता खोजिएको हो भने डा शेखर कोइरालाले एक्लै वक्तव्य दिँदा पुग्ने अवस्थामा प्रधानमन्त्री र पार्टी सभापति देउवाको प्रतिबद्धता राम्रो नभएको उनले बताए । कांग्रेसले संयमताका साथ कोशी प्रदेशको समस्याको हल खोज्ने उनले बताए ।

‘एक खालको विद्रोह भयो, त्यसलाई सम्बोधन गरेर जाने वातावरण भइरहेको छ । विश्वासको मत दिएर जानुपर्छ । कोशी प्रदेशमा जाने तर हामी महामन्त्रीको के कुरामा असहमति हो भने त्यो चिर्कटोमा सही गराए नि । सम्माननीय प्रधानमन्त्रीले, पार्टीका सभापतिले हस्ताक्षर गर्नुभएको छ, डा शेखर कोइरालाले हस्ताक्षर गर्नुभएको छ, त्यो के हो चिर्कटो,’ शर्माले भने, ‘प्रधानमन्त्रीले जसले गठबन्धनको नेतृत्व गरिरहनुभएको छ, सरकारमा बसेर उहाँले गठबन्धनप्रति प्रतिवद्ध छु भनेर वक्तव्य दिइरहनु पर्छ? गठबन्धनको सबैभन्दा ठूलो दलको सभापतिले गठबन्धनप्रति प्रतिबद्ध छौँ भनेर वक्तव्य दिइरहनु पर्छ? गठबन्धनप्रति प्रतिबद्धता खोजिएको हो भने डा शेखर कोइरालाले एक्लै वक्तव्य दिँदा पुगिहाल्थ्यो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?