दमौली : नवौं सिद्धगुफाले छपेली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बन्दीपुर गाउँपालिका– १ छापमा भएको नवौं छपेली कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक छपेलीलाई हराउँदै सिद्धगुफाले उपाधि हात पारेको हो ।
सोमबारको फाईनल खेलमा निर्धारित समय अवधिभर आयोजक छपेली युवा क्लब ए र बन्दिपुर ४ बिमलनगरमा रहेको सिद्धगुफा युवा क्लवले समान दुई दुई गोल गरेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । पेनाल्टि सुट आउटमा ३/१ को गोल अन्तरमा सिद्धगुफा च्याम्पियन बनेको हो ।
आईतबार भएको पहिलो सेमीफाईनलमा सिद्धगुफा युवा क्लवले १७ वर्ष मुनिका खेलाडी आवद्ध रहेको छपेली क्लबलाईे हराएपछि सिद्धगुफाले फाईनलको यात्रा तय गरेको थियो भने आयोजक छपेली ए ले न्यू बुद्धलाई हराउँदै छपेली फाईनलमा पुगेको थियो । च्याम्पियन बने सँगै सिद्धगुफाले एक लाख २५ हजार १२५ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–विजेता आयोजक छपेलीले ६१ हजार ६१ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष विजय रानाले बताए ।
त्यसैगरी भेट्रन्स तर्फ काहुँ मिलन युवा क्लब झापुटार पहिलो बनेको छ । सोमबार भएको फाईनल खेलमा चाम्बास युवा क्लबलाई ४ – ० को फराकिलो अन्तरले हराउँदै काहुँ मिलन पहिलो बनेको हो । काहुँ मिलनले पहिलो पुरस्कार भेंडा प्राप्त गरेको छ भने दोस्रो बनेको चाम्बासले बोका पुरस्कार प्राप्त गरेको छ । यस्तै, सेमिफाइनल पुग्न सफल छपेली अन्डर सेभेन्टिन र न्यूबुद्धले नगद दस दस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
सर्वोत्कृष्ट खेलाडी आयोजक छपेलीका सलिन तामाङ्ग, सर्वाधिक गोलकर्ता सिद्धगुफाका राम थापालाई नगद २ हजार ५ सय पुरस्कार प्रदान गरिएको छ । छाप खेल मैदानमा सोमबार भएकोे फाईनल प्रतियोगितामा गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वस्थ्य मन्त्री शुसिला सिंखडाले सम्बोधन गर्दै राष्ट्रिय खेलाडि उत्पादन गर्न स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै तनहुँमा खेलका गतिविधिहरु संचालन गर्न प्रदेश सरकारले सहयोग गर्दै आईरहको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, निवर्तमान अध्यक्ष पूर्णसिंह थापा, वडा अध्यक्ष शिबकुमार श्रेष्ठ, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनितिक दलका नेताहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । ‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता दुई विधामा खेलाईएकोे आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष रानाले जानकारी दिए ।
स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्वलाई लक्षित गरी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?