साफ यू-२० च्याम्पियनसिपमा नेपालको सानदार जित

काठमाडौं : साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गर्‍यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल पस्केको थियो। नेपालले ५८ मिनेटमा अग्रता लियो। कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

६५ मिनेटमा नेपालले अग्रता दोब्बर पारेको थियो। नेपालका लागि कृतिशरत्न छुन्जुले दोस्रो गोल गरेका थिए।

यस्तै मनग्य नकर्मीले नेपालका लागि तेस्रो गोल गरेका थिए। मनग्यले ८४ मिनेटमा गोल गरेका थिए।

जारी प्रतियोगितामा कृतिश र मनग्यले दोस्रो गोल गरेका हुन्। गत सोमबार माल्दिभ्सविरुद्ध नेपालले ४-० को जित निकाल्दा कृतिश र मनग्यले पनि गोल गरेका थिए।

जितसँगै नेपाल ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। यसअघि दिनको पहिलो खेलमा बंगलादेशले आयोजक भारतलाई २-१ गोलले पराजित गरेको थियो।

अब नेपालले आफ्नो तेस्रो खेलमा ३१ जुलाईमा भारतसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?