नेपाली शब्दकोशले नेता भन्नाले कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने, कुनै समाजमा नेतृत्व दिने, अगुवा, नाइकेलाई व्याख्या गरेको छ। अर्थात् विशेष व्यक्ति भनेर बुझिन्छ। काम गर्दै जाँदा उसको कार्य, विचार वा व्यवहारबाट प्रभावित भई नेता मान्ने तथा नेता बन्ने परम्परागत अवधारणा देखिन्छ ।नेता विभिन्न प्रक्रियाबाट जन्मन्छ वा जन्माइन्छ ।
नेता र उमेरको सम्बन्धमा खासगरी राजनीतिक दलमा बन्देज लगाइएका अभ्यास विश्वमा त्यति बाक्लो पाइँदैन ।नेता र उमेरलाई लिएर नेपालमा बारम्बार चर्चा हुने गरेको छ ।उमेर छिप्पिंदै गएपछि कुनै दलको माथिल्लो कार्यकारी पदमा बस्नु उपयुक्त हुँदैन वा निजले राम्रोसँग नेतृत्व गर्न सक्दैन भन्ने भाव देखिन्छ ।
नेपालको कानूनम अनुसार प्रशासनिक तथा राजनीतिक पदको लागि न्यूनतम उमेरको स्पष्ट व्यवस्था गरेको छ। जस्तो कि पालिकाको निर्वाचनमा उम्मेदवार बन्नको लागि २१ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन ऐन, २०७३ ले गरेको छ । प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको लागि २५ वर्ष एवं राष्ट्रिय सभा सदस्यको लागि ३५ वर्ष, राष्ट्रपति उप-राष्ट्रपतिको लागि ४५ उमेर तोकिएको छ । राजनीतिक नियुक्तिका कतिपय पदहरूमा पनि माथिल्लो उमेर तोकिएको छ। संवैधानिक निकायहरूमध्ये राष्ट्रिय मानवअधिकार आयोग बाहेक अन्य आयोगको हकमा ६५ वर्षको हद तोकिएको छ । अन्य निर्वाचित हुने पदहरूमा सम्भवतः कुनै पनि पदमा माथिल्लो उमेर हद तोकिएको पाइँदैन ।
दलहरूका गतिविधि हेर्दा पनि नीति, सिद्धान्तमा भन्दा को कुन पदमा चुनिएलान् भन्नेमै रमाएको देखिन्छ। एमाले, कांग्रेस, माओवादी, माले लगायतका दलमा पुरानै नेता अध्यक्ष वा सभापति पदमा चुनिएर आएका छन् भने राप्रपामा नयाँ नेता निर्वाचित भएका छन् । एमालेमा लगभग पुरानै अनुहारको बाहुल्य देखिएको छ भने कांग्रेसमा नयाँ अनुुहारहरू पनि उल्लेख्य रूपमा निर्वाचित भएका छन् ।
पाका नेताहरूको नेतृत्वको पटक-पटक असफल भएको हुँदा युवा नेताहरूको आवश्यकता देख्नेको सङ्ख्या जति छ त्यति चुनिएका नेताहरूबाट विगतमा जे जस्तो भए पनि भावी दिनमा सफल नेतृत्व प्रदान गर्न सकून् भन्ने देखिन्छ । धेरैको चासो र सरोकार चाहिं प्रमुख कार्यकारी पदहरूमा युवा नेताहरूको आगमन हुन नसकेकोमा रहेको देखिन्छ । दल सम्बन्धी विद्यमान नेपाल कानून तथा दलका विधान अनुसार निर्वाचित भएपछि नेता छनोट उपयुक्त भयो वा भएन भन्दा पनि चुनिएका नेतालाई सफल नेतृत्व प्रदान गर्न गराउन दवाब सिर्जना गर्न सकिन्छ वा सकिन्न भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्ने देखिन्छ । दलका कार्यकर्ता मात्र होइन आम नागरिकको खबरदारीलाई महत्व दिन जरूरी छ ।
विश्वमा अन्य देशमा उमेरका हिसाबले पाका नेताले पनि सफल नेतृत्व प्रदान गरेको देखिन्छ भने कम उमेरमा उदाएका विश्वका नेताहरूले पनि परिपक्व नेतृत्व दिएको देखिन्छ । यसको ठीक उल्टो युवा वा पाका दुवै नेताहरूले सफल नेतृत्व प्रदान गर्न नसकेका प्रशस्तै उदाहरण छन् ।यसले नेता होस् वा नेतृत्व दुवैका लागि उमेर महत्वपूर्ण तत्व होइन रहेछ भन्ने नै देखाउँदछ ।
नेपालको सन्दर्भमा प्रमुख दलका शीर्ष नेताहरू २०४६ को आन्दोलनको अग्रमोर्चामा रहेर आन्दोलनमा होमिएका तथा २०१७ सालको राजा महेन्द्रको कु विरुद्ध कुनै न कुनै रूपमा संघर्षको मैदानमा होमिएका नेताहरू छन् भने केही नेताहरू २०६२/६३ को आन्दोलनमा उदाएका युवा नेताहरू। राजनीतिक परिवर्तनमा यी नेताहरूको योगदान अतुलनीय रहेको छ। आफ्नो व्यक्तिगत, पारिवारिक स्वार्थबाट माथि उठेर पञ्चायती शासनमा लोकतन्त्रका लागि लडेका नेताहरू लोकतन्त्रको बहाली पछि भने जनताको आर्थिक, सामाजिक अवस्थामा गुणात्मक सुधार ल्याउन नसकेको भनी आलोचित भइरहेको अवस्था छ ।
त्योभन्दा बढी आजको आवश्यकता दूरगामी सोचयुक्त भावी नेतृत्व जन्माउने र उनीहरूको हातमा दल तथा समग्र राज्य प्रणाली हस्तान्तरण गर्नु देखिन्छ।तसर्थ अब नेतृत्वमा उमेरको बहसको पछि दौडिनु भन्दा भैराखेका नेताहरूको नेतृत्व शैली कसरी प्रभावकारी बनाउने र भावी नेता वा नेतृत्व कस्तो विकास गर्ने भन्नेमा केन्दि्रत हुनुपर्ने देखिन्छ ।यसका लागि समृद्ध नेपाल निर्माणको लागि देशको तालाचाबी युवा पुस्तामा हस्तान्तरण हुनै पर्दछ भन्ने एकतर्फी सोच छ। दूरगामी सोच सहितको इमानदार नेतृत्व आजको आवश्यकता हो न कि उमेरका हिसाबले कम वा बढी । नेताहरूको विगत तथा वर्तमानलाई हेरेर निराश हुनुभन्दा समृद्ध नेपाल निर्माणका लागि वर्तमान नेतृत्वमाथि सकारात्मक दवाब सिर्जना गर्दै भावी नेतृृत्व विकासका लागि राजनीतिक दल, दलका नेता/कार्यकर्ता, नागरिक समाज समेत एकाकार हुन जरूरी देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?