
दमौली : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँमा जिल्लास्तरीय छनोट भोलि देखि सुरु हुने भएको छ । तनहुँ जिल्ला खेलकुद समितिका अध्यक्ष अनिल पाण्डेका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ ९ देखि भदौ ११ सम्म हुने भएको हो ।
भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । त्यस्तै भदौ १० गते फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, कबड्डीको दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिने जनाइएको छ ।
यस्तै, भदौ ११ गते भलिबल, बास्केटबल, टेवलटेनिस, बुद्धिचाल र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट करातेको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ ।
जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?