काठमाडौं : पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ ।१७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेल जिताउन सकेनन् ।
यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी-२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाए । यस्तै रोहित पौडेलले ४७ रन जोडे । अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।
ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । २१ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाएर अर्जुन आठौं ओभरको अन्तिम बलमा आउट भए । तेस्रो नम्बरमा दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरे । ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।
दीपेन्द्रले १८ बलमा २२ रन बनाए । लगातार ठूलो सट खेल्ने चक्करमा ज्ञानेन्द्र १५औं ओभरको दोस्रो बलमा आउट भए । ज्ञानेन्द्रले ४४ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । शृंखलामा पहिलो पटक पाँचौ नम्बरमा ब्याटिङ गरेका पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि रोहित पौडेलले नेपालको इनिङ्सलाई अघि बढाए । तर उनी अर्धशतक बनाउनबाट ३ रनले चुके ।
इनिङ्सको तेस्रो अन्तिम बलमा आउट भए । आदिल बलम ४ र विवेक यादव २ रनमा आउट भए । करण केसी २ रनमा अविजित रहे । केन्याका लागि शेम एद्दगोचे, नेहेमिह ओडिएम्बो र भिराज पटेलले २–२ विकेट लिए ।
अनलाइन खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?