काठमाडौं : केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो । दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । ९४ बलको सामना गरेका पौडलले सर्वाधिक ७८ रन बनाए ।
अघिल्लो एकदिवसीयमा शतक बनाएका आशिफ शेखलाई आराम दिएर देव खनाललाई ओपनिङमा अवसर दिइएको थियो । उनले ३७ बनाए । सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।
केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए ।
तेस्रो तथा अन्तिम म्याच पर्सि सोमबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?