भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं :  भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो ।

महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् ।

यसअघि प्रिति राईले ३३ औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो । ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन् ।

६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन ।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन । तर भारत विरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत पर्‍यो । कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् ।

दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?