काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ दिलाउने भएकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् । नागरिकताको प्रमाणपत्रअनुसार ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा ११० गरी २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । रासस








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?