दमौली : प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले शुक्रबार तनहुँ हाइड्रोको निरिक्षण गरेका छन्।निरिक्षणका क्रममा सांसद भण्डारीले हालसम्म भएको कार्य प्रगतिको विवरणका बारेमा जानकारी लिएका थिए।
निरिक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा निर्धारित समयमा नै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । तनहुँ हाइड्रो तनहुँबासीको भाग्य र भविष्य संग जोडिएको योजना भएको हुँदा जतिसक्दो सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।
वन संग जोडिएको विषयका कारण हाइड्रो काम अगाडि बढाउने विषयमा देखिएको समस्या समाधान गर्नका लागि आफूले सक्दो प्रयत्न गर्ने समेत सांसद भण्डारीको भनाई थियो।
सांसद भण्डारी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु संग समन्वय गरेर काम अगाडि बढाउन समेत आयोजना प्रमुख राजा भाई शिल्पकारलाई निर्देशन दिएका थिए ।त्यसक्रममा प्रदेश सांसद जीतप्रकाश आलेले आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका समस्यालाई सम्वोधन गर्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयहरुलाई मुआब्जा उपलब्ध गराउने विषय देखि आयोजनाका काम अगाडि बढाउँदा स्थानीयलाई कम असर गर्ने हिसाबले गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले प्रभावित क्षेत्रका मागलाई सम्बोधन गर्ने विषयमा आयोजनाले ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन् ।
त्यसैगरी म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आयोजनाले सामाजिक उत्तरदायित्वका काम समानुपातिक ढंगले नगरेको र रोजगारी उपलब्ध गराउने विषयमा समेत स्थानीय तहहरु संग समन्वय नगरेको हुँदा आगामी दिनमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिएका थिए।
भेटघाटका क्रममा आयोजना प्रमुख शिल्पकारले हालसम्म भएका कार्य प्रगतिको बारेमा जानकारी गराएका थिए। सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरे ,नेपाली कांग्रेस तनहुँका सदस्य डम्बर अधिकारी ,महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?