समाजले नै आत्महत्यालाई सामान्यीकरण गर्दै छ ?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले असार २५ गते मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा एउटा भनाइ तेस्रो पटक दोहोर्‍याए, आत्महत्या गर्छु भन्ने कमर्चारीलाई डोरी लिएर मन्त्रीको गेटमा झुन्डिनु भन्दिनु ।

नायिका आँचल शर्माले असार २३ गते भनेकी छन्, “मैले भोलि सुसाइड गरेँ भनेचाहीँ तपाईंहरू रिप लेख्ने, अडियन्सहरू रिप लेख्ने अनि बुझ्ने मलाई ?”

नायक पल शाहले असार २५ गते आफ्नो फेसबुक वालमा लेखेका छन्, “म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?” गत शुक्रबार अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि डान्सर सुशान्त खत्रीले फेसबुक लाइभ बस्दै भने– “अब छिट्टै तपाईंहरूले मलाइ पनि गुमाउनुहुनेछ…।”

यी सबै अभिव्यक्तिका पछाडि सन्दर्भ र परिवेश फरक–फरक छन् । तर, तथ्य एउटै हो कि आत्महत्याजस्तो संवेदनशील विषय समाजमा सामान्यीकरण भइरहेको छ । नत्रभने स्वास्थ्यमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर न मन्त्रीले कर्मचारीलाई आत्महत्या गरेर देखाउन चुनैती दिन्थे न उचाइमा पुगेका कलाकारले दुईचार फेसबुके गालीलाई नै आधार बनाएर आत्महत्याको धम्की दिन्थे ।

त्यसो त आत्महत्या कुनै धम्की, बहादुरी वा चुनौती नभएर एक मानसिक समस्यासँग जोडिएको विषय अवस्था हो, जसलाई विज्ञहरूले अति खराब मानसिक अवस्थाको रूपमा व्याख्या गर्ने गर्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई  मानसिक, न्युरोलजिकल र गम्भीर जनस्वास्थ्य समस्याको रूपमा परिभाषित गरेको छ ।

कस्तो अवस्थामा व्यक्तिले आत्महत्या गर्छ ? 

आत्महत्या मानिसको मनोविज्ञानको एउटा अवस्था हो । पाटन मानसिक अस्पतालका निर्देशक प्रमुख कन्सल्टेन्ट साइक्याट्रिष्ट डा. अनन्त अधिकारीका अनुसार डिप्रेसनका तीनवटा अवस्था हुन्छन् ।  माइल्ड मोडरेट र सिभियरमध्ये व्यक्ति मोडरेटबाट सिभियरतर्फ पुग्दै गरेको अथवा सिभियरबाट मोडरेटतर्फ निको हुँदै गएको अवस्थामा धेरै आत्महत्या गर्ने गरेको पाइएको छ ।

त्यो चरणमा व्यक्तिले सम्पूर्ण कुराहरूलाई ब्ल्याक एण्ड ह्वाइटका रूपमा देख्छ र आफूलाई सहायताविहीन, आशाविहीन र मूल्यहिन ठान्न पुग्छ ।

आत्महत्या कायरता वा बहादुरी होइन 
मनोविश्लेषकहरूका अनुसार आत्महत्याका घटानामध्ये ८५ प्रतिशत घटनामा मानसिक समस्या जोडिएको हुन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले पटक–पटक आत्महत्याबारे सोचेर योजना बनाएर आत्महत्या गर्दछन् ।

यस्ता व्यक्तिले परिवार आफन्त वा साथीहरूबीच कुनै न कुनै लक्षण देखाएका हुन्छन् । डा. अधिकारीका अनुसार यदि कसैले आफू मानसिक रूपमा विक्षिप्त छु, डिप्रेसनमा छु भनेर आफन्त वा कसैलाई सेयर गरेको खण्डमा उसलाई परामर्श वा ढाडस नभइ हतोत्साहित गर्ने परिपाटीले व्यक्तिलाई आत्महत्याको चरणमा पुर्‍याइरहेको छ ।

डा. अधिकारी भन्छन् “कसैले मानसिक समस्याबारे सेयर गरे हामी यस्तो कातर लाछी वा यस्तै शब्द प्रयोग गरेर उसका समस्यालाई पन्छाउने कोसिस गर्छौँ । वास्तवमा आत्महत्या कुनै कायरता या बहादुरी नभई मनोविज्ञानको एउटा अवस्था हो ।”

दैनिक १६ जनाले गरिरहेका छन् आत्महत्या 

नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक १६ जनाले आत्महत्या गरिरहेका छन् ।  आर्थिक वर्ष २०७९÷०८० को जेठसम्म ६ हजार १६७ जनाले आत्महत्या गरेका छन्  । जसमा १८ वर्षमुनिका ४४४ बालिका र २४२ बालक गरी ६८६ बालबालिका रहेको प्रहरीको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ देखि २०२० सम्म आत्महत्याको वृद्धिद्धर प्रतिवर्ष आठ प्रतिशत रहेकोमा कोभिड–१९ महामारीयता यो दर एक्कासी उकालो लागेर १४ प्रतिशतमा पुगेको छ । संगठनले ‘मेन्टल हेल्थ एक्सन प्लान २०१३–२०३०’  बनाएर आफ्ना सदस्य राष्ट्रहरूमा सन् २०३० सम्म आत्महत्याको दर एक तिहाइमा झार्ने लक्ष्य राखेको छ ।

तर, यो तथ्यांकले नेपालले कुनैपनि हालतमा मेन्टल हेल्थ प्लान अनुसारको लक्ष्य नभेट्ने निश्चित भएको देखाउँछ ।

प्रचारबाजीको विषय होइन आत्महत्या 

सामाजिक सञ्जालहरूमा पछिल्लो समय देखिएका विभिन्नखाले विषयले आत्महत्यालाई प्रचारबाजीको विषय बनिरहेको त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज प्रसाद ओझा बताउँछन् ।

स–साना कुराहरूलाई पनि आत्महत्यासँग जोडेर मानिसले सामाजिक सञ्जालमा नकारात्मक कन्टेट फैलाइरहेको उनको बुझाइ छ ।  सामाजिक सञ्जाललाई सकारात्मक सुझाव लिनेभन्दा पनि आफ्नो आक्रोस, क्षणिक आवेग पोख्ने, माध्यमको रूपमा प्रयोग गरिरहेको डा. ओझा बताउँछन् ।

“वास्तविक मानसिक समस्यामा परेको व्यक्तिलाई त सपोर्ट चाहिएको हुन्छ जुन अहिले देखिएको माध्यम समाधान हुँदै होइन,” उनी भन्छन् ।  आत्महत्यालाई नकारात्मक ढंगले प्रस्तुत नगरी मानसिक स्वास्थ्यसँग जोडेर राज्यले नै नीति बनाउने हो भने आत्महत्याका घटना नियन्त्रण हुने उनको बुझाइ छ ।

तर, नीति बनाउने तहमा नै बसेका जिम्मेवार व्यक्तिहरूले आत्महत्याको संवेदशीलता ख्याल नगरी प्रचारबाजीका लागि पटक–पटक आत्महत्या दुरुत्साहन हुने यस्तो अभिव्यक्ति दिइरहनुले राज्य आत्महत्या नियन्त्रणका लागि गम्भीर नभएको प्रष्ट पार्दछ ।

११ महिनामा ६८६ बालबालिकाले गरे आत्महत्या, बालिकाको संख्या बढी 

आर्थिक वर्ष २०७९÷०८० को ११ महिनामा १८ वर्षमुनिका ६८६ बालबालिकाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार ०७९ असारयता ०८० जेठसम्म सो संख्यामा बालबालिकाका आत्महत्याका घटना भएका हुन् ।

आत्महत्या गर्नेमा बालकभन्दा बालिकाको संख्या धेरै छ, जसमा ४४४ बालिका र २४२ बालक रहेको प्रहरीको तथ्यांक छ ।  मधेस प्रदेशका बालबालिकामा आत्महत्याका घटना धेरै भएको तथ्यांकमा उल्लेख छ । ११ महिनामा मधेश प्रदेशमा मात्रै १३९ बालिकाले आत्महत्या गरेका छन् बालकको संख्या भने ४५ मात्रै छ ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?