दमौली । जेसीआई व्यासनगरको आयोजनामा बालबालिकामा लुकेर रहेको प्रतिभाको पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले ‘व्यासनगर शाइनिङ स्टार–२०२६, सिजन ११’ आयोजना हुने भएको छ।
प्रतियोगितामा ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्। सहभागी बालबालिकाले गायन, नृत्य, वक्तृत्वकला, अभिनय, चित्रकला तथा अन्य सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रारम्भिक चरणअन्तर्गत २०८३ साउन ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दमौली सेकेण्डरी स्कुल (दमौली कलेज), व्यास–४ को प्राङ्गणमा प्रतिभा छनोट कार्यक्रम सञ्चालन हुनेछ। उक्त छनोटबाट उत्कृष्ट २० जना प्रतियोगीलाई आगामी चरणका लागि चयन गरिनेछ।
छनोट भएका २० जना प्रतियोगीलाई करिब एक महिनासम्म विभिन्न विधामा विशेष प्रशिक्षण प्रदान गरिनेछ। प्रशिक्षणमा व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व विकास, प्रभावकारी सञ्चार, आत्मविश्वास अभिवृद्धि, मञ्च प्रस्तुति, नृत्य, सामूहिक कार्य, परियोजना कार्य, सामाजिक उत्तरदायित्व, वित्तीय साक्षरता, साइबर अपराधसम्बन्धी सचेतना, कृत्रिम बौद्धिकतासम्बन्धी आधारभूत ज्ञान तथा शैक्षिक भ्रमणलगायतका विषय समेटिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य केवल उत्कृष्ट प्रतिभा छनोट गर्नु मात्र नभई सहभागी बालबालिकामा आत्मविश्वास, अनुशासन, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास गर्नु हो। विगतका १० संस्करणबाट प्राप्त अनुभव र सिकाइलाई आधार बनाएर यस वर्षको कार्यक्रमलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने तयारी गरिएको छ।
प्रशिक्षण तथा विभिन्न चरणका कार्यक्रम सम्पन्न भएपछि २०८३ असोज ३ गते दिउँसो ३ बजेदेखि दमौली सभा हलमा अन्तिम प्रतियोगिता आयोजना गरिनेछ। अन्तिम चरणमा सहभागीहरूको समग्र मूल्याङ्कनका आधारमा विजेता, प्रथम उपविजेता, द्वितीय उपविजेता तथा विभिन्न विधाका उत्कृष्टलाई पुरस्कृत गरिनेछ।
प्रतियोगिताको मुख्य विजेताले ‘व्यासनगर शाइनिङ स्टार–२०२६’ को उपाधिसहित नगद २६ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ। प्रथम उपविजेताले १५ हजार २६ रुपैयाँ र द्वितीय उपविजेताले १० हजार २६ रुपैयाँ प्राप्त गर्नेछन्। विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा आकर्षक उपहारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
यसैगरी उत्कृष्ट व्यक्तित्व, उत्कृष्ट मञ्च प्रस्तुति, आकर्षक मुस्कान, उत्कृष्ट पोसाक, अनुशासन, उत्कृष्ट परियोजना प्रस्तुति, लोकप्रिय छनोट, सामाजिक प्रभाव, आकर्षक तस्बिर तथा आत्मविश्वासी प्रस्तुति लगायतका विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिनेछ। अडिसनमा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराउने विद्यालयलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितामा सहभागी बालबालिकालाई टिकट बिक्रीका आधारमा विजेता छनोट नगरिने स्पष्ट पारेको छ। प्रतियोगिताको मूल्याङ्कन निश्चित मापदण्ड तथा निर्णायकहरूको निष्पक्ष मूल्याङ्कनका आधारमा गरिने जनाइएको छ। टिकट बिक्रीलाई भने बालबालिकामा व्यवस्थापन, प्रचारप्रसार, सञ्चार तथा सामाजिक समन्वयसम्बन्धी व्यावहारिक सीप विकास गर्ने अभ्यासका रूपमा लिइएको छ।
जेसीआई व्यासनगरले विद्यालय, अभिभावक, स्थानीय सरकार, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था, प्रायोजक तथा सञ्चारकर्मीलाई कार्यक्रम सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
जेसीआई व्यासनगरका अनुसार ‘व्यासनगर शाइनिङ स्टार’ केवल प्रतियोगिता नभई बालबालिकामा रहेको प्रतिभा पहिचान गर्ने, उनीहरूको आत्मविश्वास बढाउने, नेतृत्व क्षमता विकास गर्ने र भविष्यका लागि आवश्यक सीप प्रदान गर्ने अभियानका रूपमा सञ्चालन हुँदै आएको छ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?