दमौली : आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर तनहुँका राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । तनहुँको ग्रामीण क्षेत्र र दमौली सदरमुकाममा राजनीतिक सरगर्मी बढेको देखिन्छ ।
वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएका छन् ।
वडा र टोल स्तरमा भेला, सम्मेलन र जन भेटघाट अभियान सकेका प्रमुख दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको जनाएका छन् । तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन् । मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन् । मतदाता भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउछन् ।
बन्दीपुर गाउँपालिका–५ कल्चोकका समिर नेपालीले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिए । “जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,” उनले भने, “सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।”
व्यास – ११ का सोम बहादुर आलेले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए । वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका पौडेल युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शिताको मुद्दा अवको चुनावी एजेण्डा बन्नुपर्ने बताए । राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?