दमौली : स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै तनहुँ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।आगामी वैशाख ३० मा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।
स्थानीय तह निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा समिति तनहुँले जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार जिल्लामा ७ सय ९५ भन्दा बढी हतियार दर्ता भएका छन् । जस ५ सय ६७ वटा भरुवा बन्दुक रहेका छन भने २ सय २८ वटा राइफल रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
तर ७ वैशाख बुधबारसम्म ७२ वटा हतियार मात्रै जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रशासनले दुई पटक सुचना जारी गरिसकेको र हतियार बुझाउने क्रम जारी रहेको प्रजिअ अर्यालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?