एमाले व्यास नगरको चुनावी प्रतिवद्धता सार्वजनिक

दमौली : नेकपा एमाले तनहुँले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार व्यास नगर कमिटीले तयार पारेको स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले सार्वजनिक गरेका थिए ।

चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै स्थायी कमिटी सदस्य गुरुङले पाँचदलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिमा बाधक बनेको बताएका छन् । यो सरकार जतिदिन रहन्छ, मुलुकले थप संकट व्यहोर्नुपर्ने बताउँदै उनले स्थानीय निर्वाचनमा पनि तनहुँमा एमालेले आफ्नो पकट जमाउनुपर्ने र त्यसका लागि सबै नेता तथा कार्यकर्तालाई आफ्नो सरकारको पालामा भएका राम्रो कामका विषयमा जनतामाझ पुऱ्याउन आग्रह गरे ।

संघीयताको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व आफ्नो दलले गर्दा मात्र राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात हुने चर्चा गर्दै उनले भने, ‘निर्वाचनमा आफुले चाहेको पदको उम्मदेवारमा टिकट पाइन भनेर चित्त नदुखाउनु होला, तालमेल गरेर जाँदा आउनुपर्ने व्यक्ति नआउन पनि सक्छ ।

व्यास नगरपालिकामा यस्तो छन प्रतिवद्धता ?

व्यास नगर कमिटीले शिक्षा क्षेत्रमा स्थानीय तहमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारी अध्यापनको सुनिश्चितता गर्ने, शिक्षालाई उत्पादन तथा रोजागरी व्यवसायसंग जोड्ने, आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पसमा रुपान्तरण गर्न पहल गर्ने, खेलकुदका क्षेत्रलाई प्राथमिकतामा राखिने, नीजि विद्यालयहरुलाई स्तरीकरण गरी सोही अनुसार शुल्क निर्धारण गर्ने, सबै विद्यालयहरुमा कम्प्युटर मल्टिमिडिया इन्टरनेटको व्यवस्था गरी विद्यालयदेखि सञ्चार प्रविधिमा अभ्यस्त गराइने तथा आईसिटीको प्रयोगशालाबाट पठनपाठन कार्य गराउने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण एवं व्यवसायिकरण गर्ने, कृषकले उत्पादन गरी बिक्री गर्न नसकेको कृषिजन्य सामाग्रिहरु – बिक्री व्यवस्था मिलाउने, प्रत्येक वडाको प्रकृति अनुसार विशेष उत्पादन पकेट क्षेत्र निर्धारण गरी आवश्यक सहयोग गर्ने लगायतका कृषि क्षेत्रका चुनावी प्रतिवद्धता तयार गरिएको छ ।

नगर कमिटीले जमिन बाँझो राख्न नदिने, बाँझो जमिनलाई उत्पादन कार्यका लागि प्रयोगमा ल्याउन पहल गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

पर्यटन पूर्वाधार तर्फव्यास क्षेत्र, परासर क्षेत्र, तनहुँकालिका मन्दिर, तनहुँसुर मानुङकोट, छाब्दी मन्दिर जस्ता ऐतिहासिक, धार्मिक पुरातात्विक क्षेत्रको एकीकृत गुरुयोजना तयार गरी विकास गर्ने, विभिन्न जातजातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने, १०८ फिट अग्लो व्यासको मुर्ती निर्माणलाई तीब्रता दिने, एकीकृत पर्यटन विकास गरी रोजगारी सृजना गर्ने प्रतिवद्धता पत्र तयार गरिएको छ ।

यस्तै, खानेपानी तथा सरसफाई तर्फसबै परिवारमा स्वास्थ्यको पहुँच पुऱ्याउने, सरकारले उपलब्ध गारउने भनेको निःशुल्क औषधीको आपुर्तिमा ध्यान दिने, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, फोहोर मैला व्यवस्थापनलाई सहज बनाउने लगायतका सामाजिक उत्तरदायित्व तथा सुरक्षा व्यवस्थापनमा ध्यान दिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

जिल्लाका १० वटै पालिकाका कमिटीहरुले शुक्रबार एक कार्यक्रमका बीच प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । एमाले तनहुँले जनताको आधारभूति आवश्यकाता र प्रत्यक्ष प्रभाव पार्ने विषयवस्तुलाई समेटेर प्रतिवद्धता पत्र तयार गरेको छ ।

जिल्लाका ६ वटा गाउँ कमिटी र ४ नगर कमिटीहरुले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आ-आफ्ना पालिकामा रहेका विषयवस्तुलाई समेटेर चुनावी प्रतिवद्धता पत्र तयार गरेका छन् ।

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समुहसंग तालमेल गरी चुनावी मैदानमा उत्रने तयारी गरेको एमाले तनहुँले केही दिनमा संयुक्त चुनावी प्रतिवद्धता तथा घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

एमालेले व्यास नगरपालिकामा प्रमुख जोशी समुहलाई छोड्ने र उपप्रमुख आफैले उम्मेदवार उठाउने गरी तालमेल गरेको छ । जसअनुसार व्यासमा जोशी पुत्र दिपक राज जोशी मेयरका उम्मेदवार हुनेछन ।

यता एमालेले भने उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन । सिफारिसमा परेका मध्य व्यास नगरपालिकाको उपप्रमुखमा एमालेकी तनहुँ जिल्ला सदस्य बसुन्धरा घर्ती बलियो उम्मेदवार हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?