
चितवन : प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।
प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो।
पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन्। उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो।
जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आएका हुन्। उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज गएका छन्।सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन्। त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?