दमौली : नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल प्रेस युनियन तनहुँले शुक्रबार अति सिमान्तकृत तथा लोपोन्मूख कुसुण्डा जातिकी सिमान्त कुसुण्डालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
सिमान्त अध्ययन गर्ने दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार समहासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेले स्थापना दिवसको उपलक्ष्यमा यस्ता रचनात्मक कार्य गरिनु राम्रो भएको बताए।
सत्यवती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले सिमान्तकृत तथा लोपोन्मूख समुदाय कुसुण्डा बालिकाको शैक्षिक विकासमा चासो राखेर मद्धत गरेमा धन्यवाद व्यक्त गरे । साथै उनले विद्यालयको तर्फबाट पनि बालिकाको अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेर प्रोत्साहन गरिने बताए ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीले बालिका सिमान्तको अध्यनको लागि विगतमा पनि सामाजिक सङ्घ सस्थासँग समन्वय गरी सहयोग पु¥याउँदै आएको र भविश्यमा पनि मद्धत पु¥याउने बताए।
व्यास नगरपालिका–१० डिहीगाउँ निवासी सिमान्त सो विद्यालयमा कक्षा ७ मा अध्ययन गरिरहेको छ । शैक्षिक सामग्री सहयोग गरेकोमा सिमान्तको आमा इन्द्रमाया कुसुण्डाले अभार व्यक्त गरे । कुसुण्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुण्डा छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा कुसुन्डाको जनसङ्या १ सय ७३ छ ।
इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी व्यास नगरपालिका–१० डिही गाउँमा तीन कोठे निर्माण गरिदिएको घरमा बस्दै आएको छ । कसुण्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुण्डाहरु स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोवास गर्दथे । जङ्गली रूखबिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमुल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे ।
जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरु मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?