लमजुङ : गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो ।
यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको छ ।यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ ।
यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङका स्थानीयवासी बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । गत वर्ष पनि यो सडक अवरुद्ध हुँदा मनाङवासी हेलिकोप्टरको सहायतामा बेँसीसहर आएर काठमाडौँ, पोखरा गएका थिए ।
हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक निर्माणको काम अघि बढाउँदै विसं २०६९ मा सम्पन्न भएको थियो ।यसयता सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक–पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ । तल मस्र्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?