काठमाण्डाै :साझा यातायातले बिजुली बसको सुभारम्भ गरेको छ । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिहान ११ बजे बिजुली बसको शुभारम्भ गरेको हो । शुभारम्भसँगै साझाका तीन वटा बिजुली बस दुई रुटमा चल्न थालेका छन् । रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा दुई वटा बस चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाले जनाएको छ ।
साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् । सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् ।
बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएकाे सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ । यस्तै, बसमा सीसीटीभी, टीभी, वाईफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ ।
बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्री प्रयोग गरिएको छ । बस ४५ किलोवाटको चार्जमा ५ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बताए । उनका अनुसार चीनबाट ल्याउन लागिएको ४० मध्ये अहिले तीन वटा बस मात्रै नेपाल आएका छन् ।
बाँकी ३७ वटा बस दशैँअघि नै आइपुग्ने उनले बताए । एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको साझाले विद्युतीय बस खरिद गर्न गएको चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?