दमौली : गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले अधिकारको विकेन्द्रीकरण गर्ने सवालमा केन्द्रिय सरकार कठोर रहेको बताएका छन् । जनकपुरधाममा आयोजित शान्ति सुरक्षा तथा विपद व्यावस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री विश्वकर्माले संघीय सरकारको मातहतमा हुँदा समयमा काम गर्ने अवस्था रहेको बताएका हुन् ।
उनले संघीय सरकारमा जुनसुकै पार्टी र नेताको सरकार बने पनि प्रदेशलाई मजबुत बनाउने दायित्व प्रदेशकै भएको बताए । संघीयतालाई संस्थागत गर्ने विषयमा खुट्टा कमाउने अवस्था रहेको भन्दै उनले प्रदेश आन्तरिक मामिला मन्त्रालयलाई संघीय सरकार मातहतमा राखिदा समस्या रहेको बताए । संघीय सरकारले अधिकार प्रदान गर्न नसक्दा यस्तो समस्याले नाम अनुसारको काम गर्न मन्त्रालय र मन्त्रीहरुले नसकेको उनको भनाई छ ।
१० वर्षे सशस्त्र द्वन्द्वलाई २०६२/६३ मा शान्ति प्रक्रियामा ल्याएर सहज बनाउँदै संविधानले दिएको अधिकार कार्यान्वयनमा समस्या हुन नहुने उनले बताए । ‘कार्यविधिले विपदमा सहयोग माग भए अनुसारको सहयोग उपलब्ध गराउन मुस्किल बनाइएको छ, संविधानले दिएको अधिकारलाई सहज बनाउनतर्फ प्रदेशले नै अधिकार पाउनुपर्छ,’ मन्त्री विश्वकर्माले भने ।
मधेस प्रदेशका मुख्यमन्त्री लालवावु राउतको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रदेश सभामुख किशोर यादव लगायत ६ प्रदेशका आन्तरिक मामिला (गृह) मन्त्रीहरु उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?