फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।
दोस्रो हाफमा अर्जेन्टिनाका लागि अस्ट्रेलियन गोलपिकर म्याथ्यु रायनले गरेको गल्तीको फाइदा उठाउँदै अल्भारेजले ५७औं मिनेटमा दोस्रो गोल गरेका थिए।
क्र्याग गुडविनले ७७औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो। फर्नान्डेजको आत्मघाती गोलसँगै स्कोरलाइन २–१ मा छोट्याएको अस्ट्रेलियाका लागि अजिज बेहिचले उत्कृष्ट मौका सिर्जना गरेका थिए।
अर्जेन्टिना समूह ‘सी’को विजेता र अस्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा आइपुगेको थियो। आजको जितसँगै क्वार्टरफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँग खेल्ने छ।
शनिबार नै भएको खेलमा अमेरिकालाई २–१ गोलको नतिजामा पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगिसकेको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?