काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई निर्देशन दिएका छन् । शीतलहरबाट जनतालाई जोगाउन योजना बनाएर काम गर्न उनले सीडीओहरूलाई निर्देशन दिएका हुन् ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गुनासो नआउने गरी संबोधन गर्न निर्देशन दिए । हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल संवोधन गर्दै बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
विपद्को सामना गरिरहेका नागरिकसामु सकेसम्म आफैं पुग्न र दुःखमा परेकाहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धताका लागि पनि प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
नागरिकका गुनासो तथा समस्यालाई सधैं उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन पनि उनले निर्देशन दिएका छन् ।
सुशासनलाई ध्यानमा राखेर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताप्रति आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेकाले कुनै पनि व्यक्ति वा संयन्त्रयको दवाब र प्रभावमा नपर्न समेत गृहमन्त्री लामिछानेको निर्देशन छ ।
नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झटिलो र रुखो व्यवहार भोग्नु पर्ने गुनासो आजकै दिनबाट हटाउन पनि उनले निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न पनि निर्देशन दिएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?