दमौली : तनहुँको व्यास नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको अल्ट्रा म्याराथन यस वर्ष पनि आयोजना गर्ने भएको छ । माघ १६ गते सहिद दिवसको अवसर पारेर नगरपालिकाले व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्न लागेको हो ।
विगतका वर्षहरुमा देशभरका धावकको सहभागिता रहने प्रतियोगितामा यस वर्ष भने स्थानीय धावकको मात्र सहभागिता रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
खर्चलाई मितव्ययी बनाउन यसपटक स्थानीय धावकको सहभागितामा मात्र प्रतियोगिता आयोजना गर्ने निर्णय भएको उनले बताए ।
नगरपालिकाले विगतका वर्षमा भन्दा यस वर्ष प्रतियोगिताको पुरस्कार राशि घटाउने भएको छ । त्यसका लागि केही दिनमा पुरस्कारको राशि निर्धारण गरिने गुरुङले बताए ।
गत वर्ष आयोजित प्रतियोगिताको पहिलो पुरस्कार राशि ८७ हजार ७८ रुपैयाँ थियो । गत वर्ष आयोजित प्रतियोगिताको उपाधि नेपाली सेनाका बेदबहादुर सुनुवारले जित्नुभएको थियो ।
व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ ।
म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?