उपसभामुख बनेकी इन्दिरा राना मगर को हुन् ?

काठमाडौं : उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।

शनिवार दिउसो प्रतिनिधिसभामा सांसदहरूबीच भएको मतदानमा उनले १६६ मत प्राप्त गरी नेपाली कांग्रेसकी उम्मेदवार मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन्।

२७५ सदस्यहरू रहेको प्रतिनिधिसभाको शनिवारको बैठकमा कुल २६४ सांसद उपस्थित थिए।

उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९७ मत खसेको थियो भने एकजना सांसद्ले मतदान प्रक्रियामा आफूलाई तटस्थ राखेका थिए।

रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका सत्ता गठबन्धनका दलहरूले समर्थन गरेका छन्।

नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुई पदमा फरक फरक दलका व्यक्तिहरू हुनुपर्ने व्यवस्था गरेको छ।

सभामुखमा माघ ५ गते नै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।

वाउन्न वर्षीया इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

झापामा जन्मिएकी उनी पहिलो पटक सांसद बनेकी हुन्।

राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन्।

उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ।

उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० विमिन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो।

उपसभामुखका लागि रानाको प्रस्तावक बनेकी उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उनलाई ‘समाज रूपान्तरणको अथक प्रयासपछि निखारिएर राजनीतिमा आएको’ व्यक्तिको रूपमा परिचित गराएकी थिइन्।

३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउने रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरिएको बताउँछिन्।

कोभिड महामारीका बेला उनले कैयौँ दिन आम्दानीको अभावमा भोका परेका सयौँ मानिसहरूलाई खानाको व्यवस्था गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?