मकवानपुर : विश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक (प्यांगोलिन)लाई मकवानपुरको “गौरवको प्राणी” घोषणा गरिने भएको छ । मकवानपुरको अधिकांश स्थानमा पाईने शान्त एवम् लजालू स्वभावको स्तनधारी जनावर सालकको संरक्षण गर्ने उद्धेश्यका साथ गौरवको प्राणीका रुपमा घोषणा गर्ने तयारी गरिएको हो ।
विश्वमै सालक प्रजातिहरू गम्भीर जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाइन्छ । यसैदिन पारेर आगामी फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाईमा जिल्ला समन्वय समिति मकवानपुरको अभिभावकत्व एवम् स्थानीय निकायको व्यवस्थापकिय सहयोगमा गौरवको प्राणी घोषणा गर्न लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताए । अन्तर्राष्ट्रिय सालक दिवसका अवसरमा एक कार्यक्रमका बीच सालकलाई जिल्लाको गौरवको प्राणीको रुपमा घोषणा गर्ने तयारी भएको उनले बताए ।
आचार्यकाअनुसार आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो जनावर मकवानपुर जिल्लामा भने यसको संख्या राम्रो रहेको छ । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि गौरवकै प्राणीका रुपमा घोषणा गर्न लागिएको उनले बताए ।
पछिल्लो समय सालकको मासुले रोगव्याधी काट्ने र पोषिलो हुने अन्धविश्वास रहेको छ । यसको खपटा औषधी हुने र अन्तर्राष्ट्रिय बजारमा विक्री हुने भ्रमका कारण चोरी निकासी भई लोप हुँदै गएको उनले बताए । यसका साथै साँघुरिदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले यो लोपोन्मुख अवस्थामा पुगेको हो ।
यसको संरक्षणका लागि कार्यालयले विभिन्न योजनाहरु समेत सार्वजनिक गरी अगाडी बढाएको आचार्यले बताए । सालकको संरक्षणको अवस्था, वासस्थान, पारिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने जस्ता कार्यहरु भइरहेको उनले बताए । सालक नेपालको संरक्षित वन्यजन्तु हो । संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । यो वन्यजन्तुले अक्सर घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ ।
समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ । यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ । यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ ।
आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । कतैबाट आक्रमण वा खतरा महशुस भयो भने यो भाग्दैन तर भकुन्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ । खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । विशेषगरी चीन, भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको बढी माग हुन्छ । चीन र भियतनामका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु खानु प्रतिष्ठासँग जोडेर हेर्ने चलन छ । त्यसैगरी यसको शरीरमा हुने खबटा बुलेट–प्रुफ ज्याकेट तथा उच्च कोटिको टाँक बनाउन र महँगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुने गरेको उनले बताए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?