नेसन्स लिगको सेमिफाइनलमा फेरि इटाली र स्पेन भिड्ने

काठमाडौं : युईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलको ड्र सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक भएको ड्रअनुसार सेमिफाइनलमा युरोपियन च्याम्पियन इटाली र स्पेन भिड्ने भएका छन्।

यस्तै, अर्को खेलमा नेदरल्यान्ड्स र क्रोएसिया आमने–सामने हुनेछन्।

सेमिफाइनलका खेलहरु अगामी जुन १४ र १५ मा हुनेछन्।

जुन १४ मा नेदरल्याण्डस् र क्रोएसियाबीचको खेल हुनेछ भने जुन १५ मा इटाली र स्पेन भिड्ने छन्।

क्रोएसिया लिग १ को समूह एको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यस्तै, स्पेन समूह बी, इटाली समूह सी र नेदरल्याण्ड्स समूह डीको विजेताका रुपमा सेमिफाइनल पुगेका हुन्।

गत संस्करणको विजेता फ्रान्स भने समूह चरणबाटै बाहिरिएको थियो। गत संस्करणको सेमिफाइनलमा पनि इटाली र स्पेन भिडेका थिए। जसमा स्पेनले बाजी मारेको थियो। तर, स्पेन फाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?