दमौली : यसैवर्ष आयोजना हुने साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै साफ च्याम्पियनसिप–२०२३ भारतमा हुने जनाएको हो ।
च्याम्पियनसिपका लागि साफले भारतलाई आयोजना अधिकार प्रदान गरे पनि भारतीय फुटबल संघ (एआईएफएफ)को आग्रहअनुरुप मैदानको बारेमा भने १० मार्चमा जानकारी गराइने जनाएको छ । यस वर्ष साफ च्याम्पियनसिप जुन २० देखि जुलाई ३ सम्म हुने तालिका छ ।
यसअघि, च्याम्पियनसिपका लागि नेपालले प्रस्ताव पेस गरे पनि प्रायोजकले भारतमा हुनुपर्ने माग गरे पनि च्याम्पियनसिपको आयोजना भारतलाई दिइएको हो ।
सन् १९९३ देखि सुरु भएको च्याम्पियनसिपको हालसम्म १३ संस्करण सम्पन्न भइसकेको छ । जसमध्ये प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले आठपटक उपाधि जितेको छ ।
यसबाहेक, माल्दिभ्सले दुईपटक उपाधि जित्दा बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एकपटक उपाधि जितेका छन् । नेपाल, भुटान र पाकिस्तानले भने हालसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेका छैनन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?