काठमाडौं : सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा शनिबार पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी थिए।
दुवै पूर्वसभामुखले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिएको सभामुखको सचिवालयले जनाएको छ।
पक्ष/विपक्षमा राजनीतिक दलहरुले नै बहस गर्ने बताउँदै उनीहरुले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
सभामुखले पूर्वसभामुखभन्दा अगाडि पूर्वमहान्यायाधिवक्ताहरुसँग पनि छलफल गरेका थिए। छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्राडा भरतबहादुर कार्की सहभागी थिए।
पूर्वमहान्यायाधिवक्ताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरुपण सर्वोच्च अदालतले गर्ने उल्लेख गरेका थिए।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?