तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन पुस २७ गते हुने

दमौली : ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन यही पुस २७ गते हुने भएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको हो ।

शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै ऋषिङलाई देशैभरी परिचित गराउने उदेश्यले यही पुस २७ गते अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

खुल्ला म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ६५ हजार, रु ४० हजार, रु २५ हजार र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए । पुरुस्कार रकम कर कट्टी गरेर प्रदान गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

उनले रिसिङको प्रचारप्रसार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ नियमित रुपमा प्रत्येक बर्ष म्याराथन गरिदै आएको जानकारी दिए । पहिलो बर्ष १३६ जनाले सहभागीता जनाएका थिए । त्यस्तै दोस्रो बर्ष पनि त्यतिकै संख्यामा धावाकले सहभागिता जनाएको भन्दै श्रेष्ठले यसबर्ष पनि धावकको संख्यामा वृद्धि हुने बताए ।

सहभागी हुन चाहने धावकले यही पुस २६ गते बिहान १० बजेसम्म फाराम भर्न सक्ने ऋषिङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं खेलकुद विकास समितिका संयोजक दल बहादुर थापाले जानकारी दिए ।

खुल्ला म्याराथन धारुङ भञ्ज्याङदेखि दौड सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिका -७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ।

जसको दूरी ४२.२ किलोमीटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?