दमौली, तनहुँ | व्यास नगरपालिकाको आयोजनामा तथा व्यास नगर खेलकुद समितिको समन्वयमा वडा नं. १ देखि १४ सम्मका युवाहरूका लागि आयोजित दुई दिवसीय कृत्रिम बौद्धिकता (AI) क्षमता विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जेठ २८ र २९ गते व्यास नगरपालिका सभाहलमा सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक वडाबाट ५ जनाका दरले छनोट गरिएका जम्मा ७० जना युवाहरू सहभागी भएका थिए। कार्यक्रममा युवाहरूले AI सम्बन्धी आधारभूत अवधारणादेखि दैनिक जीवन, शिक्षा, व्यवसाय तथा विभिन्न क्षेत्रमा यसको व्यावहारिक प्रयोगबारे जानकारी हासिल गरेका छन्।
कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशिक्षक श्री केशव घिमिरे तथा प्रशिक्षक श्री विवेक भट्टराईले कृत्रिम बौद्धिकताको परिचय, यसको सम्भावना, अवसर र प्रयोगका विविध पक्षहरूबारे सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा सहभागीहरूले AI आधारित विभिन्न डिजिटल उपकरणहरूको प्रयोगात्मक अभ्याससमेत गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी युवाहरूले उच्च उत्साह, जिज्ञासा र सिकाइप्रतिको प्रतिबद्धता देखाएका थिए। सहभागीहरूले प्राप्त ज्ञान र सीपले आफूहरूलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने तथा भविष्यमा नगरपालिका र समाजको विकासमा सकारात्मक योगदान पुर्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
व्यास नगरपालिकाले यस्ता प्रविधिमूलक तथा सीप विकासका कार्यक्रममार्फत युवाहरूलाई आधुनिक ज्ञान र प्रविधिसँग जोड्दै सक्षम, सिर्जनशील र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?