दमौली : राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताएका छन् । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताए।
शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने अवस्था रहेको गुनासो गरे ।
उनले भने, ‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौँ तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ । ” राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गरे ।
पौडेलले भने, ‘‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर गएर उतै बस्नुभयो । गाउँको समस्या यही हो । ”
‘‘सिपबिना तथा आचरणबिनाको नागरिकबाट देश संवृद्ध हुन सक्दैन । सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर वृद्धि गरी सिपवान र शीलवान नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ ।’’ उनले भने
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?