दमौली। व्यास नगरपालिकाले सडक पेटी तथा सडक अधिकार क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका पक्की संरचना हटाउन सम्बन्धित घरधनी तथा व्यवसायीलाई पुनः आग्रह गर्दै दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले यसअघि जारी गरिएको ३५ दिने सूचनाको अवधि सकिँदासमेत आवश्यक कार्यान्वयन नभएको जनाउँदै पुनः सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका र्याम्प, सिँढीलगायतका पक्की संरचना तथा सार्वजनिक आवागमनमा बाधा पुर्याउने सामग्री आगामी साउन १५ गतेभित्र सम्बन्धित व्यक्तिले आफैं हटाउनुपर्ने उल्लेख गरिएको छ।
नगरपालिकाले सडकमा सिधै पानी खसाल्ने पाइपसमेत हटाउन आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम नगरपालिकाले आफैं हटाई आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।
नगरपालिकाका अनुसार सडक अधिकार क्षेत्रको संरक्षण, सार्वजनिक आवागमन सहज बनाउने तथा बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो। सम्बन्धित सबै घरधनी, व्यवसायी तथा सरोकारवालालाई सूचनाको पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?