सातौं व्यास नगर अल्ट्रा म्याराथन माघ १६ गते हुने

दमौली : खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले सातौं व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते सातौं व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो ।

मंगलवार पत्रकार सम्मेलन गर्दै ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

व्यास नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवर्द्धनका लागि अल्ट्रा म्याराथन गरिने भएको न्यौपानेले बताए।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सहिद भएकाहरूको सम्झना र उच्च स्थान तथा गुरुङ्ग बस्ती पुलिमराङ्गको प्रवर्द्धनका लागि प्रतियोगिता उक्त स्थानमा समापन गरिनेछ।’ उनले भने ‘ प्रतियोगितामा ८ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ र सहभागी हुनका लागि एक सय रुपियाँ प्रवेश शुल्क राखिएको छ।’

प्रथम पुरस्कार नगद रु.८५ हजार ८०, द्वितीय पुरस्कार रु. ६५ हजार ८०, तृतीय पुरस्कार रु. ५५ हजार ८० र ५ जनालाई सान्त्वना पुरस्कार रु. १६ हजार ८० का दरले प्रदान गरिने व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर अल्ट्रा म्याराथनको समापन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष  एवं वडाध्यक्ष सुरेश थापाले बताए ।

४४ किलोमिटरको दुरीको अल्ट्रा म्याराथुनमा सहभागी हुनका लागि माघ १५ गते सम्म नाम दर्ता गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?