दिल्ली : भारतको राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिल्लीमा आफ्नो कुनै राजनीतिक भेटघाट नरहेको बताएका छन् । शनिबार दिउँसो दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू भारत हिँड्नेबित्तिकै काठमाडौंमा अनावश्यक हल्ला चलेको बताए ।
शनिबार सभापति लामिछानेले नयाँदिल्लीमा पार्टी प्रवासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए । ‘म निरन्तर दिल्ली आइ नै रहनेछु। अन्य कुनै कार्यक्रम छैन। कहिलेकाहीँ दिल्ली आइरहँदा काठमाडौँमा कुनचाहिँ सिल्लीले अर्कै हल्ला फैलाइसक्या हुन्छ,’ उनले भने, ‘यसलाई भेट्यो र उसलाई भेट्यो, यहाँ गयो र त्यहाँ गयो भनेर। ती सिल्लीहरूको हल्लाको पछि लाग्नु जरुरी छैन।’
उनले आफूले राजनीतिक भेटघाट नगर्ने तर बाटोमा कोही भेटिए भन्न नसकिने बताएका थिए । ‘म विशुद्ध हैदरावादको कार्यक्रममा आएको छु। बाटोमा कोही भेटिए बेग्लै कुरा हो, नत्र मेरो कुनै तालिका छैन।’
लामिछाने दुई दिने कार्यक्रम तय गरेर भारत गएका हुन्। उनको साथमा उपसभापति डोरप्रसाद अर्याल पनि सँगै दिल्ली गएका छन् । नेपालमा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी अर्का उपसभापति डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?