तनहुँ — व्यास नगरपालिकाले हालै बसेको नगर कार्यपालिकाको २३६औँ बैठकमार्फत शिक्षा व्यवस्थापन, आगामी आर्थिक वर्षको बजेट तयारी, सेवा प्रवाह सुधार तथा संस्थागत व्यवस्थापनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
नगर प्रमुखको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै नगरपालिकाले समग्र सेवा प्रणालीलाई प्रभावकारी बनाउने दिशामा कदम अघि बढाएको जनाएको छ।
नगरभित्र विद्यार्थी संख्या न्यून भएका केही सामुदायिक विद्यालयहरूमा कक्षा समायोजन तथा व्यवस्थापन गर्ने निर्णय गरिएको छ। यसअन्तर्गत केही विद्यालयमा बालविकास कक्षादेखि निश्चित तहसम्म मात्र सञ्चालन गर्ने तथा अन्य कक्षाहरू समायोजन गरिनेछ। शिक्षक व्यवस्थापनका लागि आवश्यक समन्वय गर्न नगरस्तरीय समिति गठन गर्ने निर्णय समेत गरिएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सरोकारवालासँग व्यापक छलफल गर्ने तयारी गरिएको छ। यसका लागि जनप्रतिनिधि, उद्योगी–व्यवसायी, कृषक, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसँग परामर्श बैठक आयोजना गर्ने निर्णय गरिएको छ।
मालपोत र नापी कार्यालयबाट प्रदान हुने सेवा नगरपालिकामै प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्ने विषयमा संघीय सरकारसँग समन्वय गर्ने निर्णय गरिएको छ।
संघीय सरकारबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा भएको निर्णयलाई स्थानीय सन्दर्भअनुसार कार्यान्वयन गर्नेबारे छलफल गरिएको छ। हालका लागि सामुदायिक विद्यालयहरूमा आइतबार बिदा दिने व्यवस्था कायम गर्ने निर्णय गरिएको छ।
अन्य निर्णयहरू
- सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावहरूको समीक्षा
- सेवा प्रवाहलाई अझ चुस्त बनाउन प्रशासनिक सुधार
- हाल लागू भएका खरिद सम्बन्धी नियमहरू परिमार्जनअनुसार कार्यान्वयन गर्ने
- विभिन्न व्यक्तित्वहरूको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट
नगरपालिकाले यी निर्णयहरू कार्यान्वयनमार्फत स्थानीय शासनलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य लिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?