तनहुँको बन्दिपुर–५ याम्पाढाबका ४७ वर्षीय भीमबहादुर क्षैत्रीको निधन बुधबार राति भयो। १८ वर्षदेखि ब्लड क्यान्सरसँग संघर्ष गर्दै उनकाे उपचारकाे क्रममा मृत्यु भयाे ।समाजमा प्रचलित ‘बुबाआमाको काजकिरिया छोराले मात्र गर्ने’ परम्परागत मान्यतालाई तोड्दै भिमबहादुरका छाेरी निशा र अनिशाले बुवाको शवलाई घरदेखि घाटसम्म काँधमा बोके। दुवै छोरीले दागबत्ती दिए र आमासँगै बसेर काजकिरियामा बसेका छन्।
२९ वर्षकै उमेरमा ब्लड क्यान्सरको थाहा पाएपछि पनि क्षत्रीले हिम्मत हारेनन्। दुई छोरीको लालनपालन र शिक्षादिक्षाको जिम्मेवारी आफूमाथि आएपछि उनले पृथ्वी राजमार्ग छेउमा सानो होटल सञ्चालन गर्दै बाख्रापालन व्यवसायसमेत सुरु गरेका थिए। श्रीमती ममताको साथले उनलाई कठिन परिस्थितिमा पनि अघि बढ्न थप बल दिएको स्थानीयहरू बताउँछन्।
जेष्ठ छोरी २५ वर्षीया निशा र कान्छी २१ वर्षीया अनिशा बाल्यकालदेखि नै जेहेन्दार र उत्कृष्ट विद्यार्थी थिए। हाल दुवै उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन्। बुवाको अवस्था गम्भीर भएपछि उनीहरू अष्ट्रेलियाबाट फर्किए पनि उपचार सम्भव भएन।
भीमबहादुरको जीवन संघर्ष र धैर्यताको उदाहरण रहेको स्थानीयवासीहरू बताउँछन्। तनहुँ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष रूद्रसिंह ठकुरीले भने, “जस्तोसुकै रोग लागे पनि आत्मबल र धैर्यताले धेरै कुरा जित्न सकिन्छ। साथै, छोराछोरीबीच भेदभाव गर्नु हुँदैन भन्ने पाठ पनि उनिहरूकाे कर्मले देखाएका छन्।”







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?