व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दमौली, २० चैत । व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ तनहुँको समन्वयमा आज व्यास नगरपालिका–७ कलेस्तीमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रका विभिन्न समस्या तथा गुनासाहरू राखेका थिए। व्यास–७ का शम्शेरबहादुर कुँवरले गाउँमा बाँदरको आतङ्क बढ्दै गएको उल्लेख गर्दै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न माग गरे। त्यसैगरी, बलबहादुर रानाले राष्ट्रिय परिचयपत्र वडास्तरबाटै वितरण गर्ने व्यवस्था मिलाउन तथा वडाबाट विनियोजित बजेटको भुक्तानी प्रक्रिया पनि सहज बनाउनुपर्ने धारणा राखे।

स्थानीय सीता नेपालीले तालिम लिए पनि उद्यम सञ्चालनका लागि पर्याप्त सहयोग नपाएको गुनासो गर्दै नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताइन्। व्यास–१० का गणेश टोल विकास संस्थाका अध्यक्ष श्रीराम कुँवरले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच एकीकृत रूपमा गर्न र बैरेनी जग्गा एकीकरण आयोजनामा देखिएका समस्या समाधान गर्न आग्रह गरे।

यसैगरी, व्यास–६ का बामदेव पण्डितले बजेट विनियोजनमा कुनै पनि आधारमा विभेद नगर्न माग गरे भने व्यास–९ माझफाँटका नारायण न्यौपानेले कुहिने फोहरलाई मलका रूपमा प्रयोग गर्न र प्लास्टिक तथा सिसाजन्य फोहर व्यवस्थापनका लागि हप्तामा कम्तीमा एक दिन सवारी साधनको व्यवस्था गर्नुपर्ने सुझाव दिए। व्यास–७ की सीता गुरुङले विकास निर्माणमा अपेक्षित प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। साथै, देवी परियार र विजय गिरीले पनि आफ्ना समस्या र सुझाव प्रस्तुत गरे।

कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उठेका गुनासाहरू सम्बोधन गर्दै बाँदर नियन्त्रण राष्ट्रियस्तरकै चुनौती भएको बताए। यसअघि गरिएका प्रयासहरू पर्याप्त सफल हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता जनाए। उनले सेवा प्रवाहलाई सहज, पारदर्शी र उत्तरदायी बनाउने तथा नागरिकका गुनासाहरूलाई प्राथमिकतामा राख्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालु आर्थिक वर्षमा सम्पन्न योजनाहरू, खर्च विवरण र उपलब्धिहरू सार्वजनिक गरेका थिए। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, उपप्रमुख इन्दिरा दरै, शाखा प्रमुखहरू तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?