दमौली । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध नेपाल सरकारद्वारा हालै चालिएका कदम तत्काल फिर्ता लिन माग गर्दै तनहुँका पत्रकारहरूले हस्ताक्षर संकलनसहित विरोध जनाएका छन्।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा आयोजित कोणसभामा सहभागी पत्रकारहरूले निजी सञ्चारमाध्यममाथि लगाइएको अंकुश कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका हुन्।
कार्यक्रममा वक्ताहरूले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरीत सरकार स्वयं अग्रसर भएको भन्दै आपत्ति जनाएका थिए। नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल तथा पूर्व अध्यक्ष डम्बर अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राज्यले निरंकुश प्रवृत्ति बढाउन खोजेको अनुभूति भएको बताएका थिए।
उनीहरूले विगतका शासकीय व्यवस्थामा समेत नभएको प्रकारको दमन वर्तमान सरकारले गरेको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सशक्त आन्दोलनका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले निजी सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउनुभयो।
हस्ताक्षर संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ओमकार आचार्य, महासंघ तनहुँ शाखाका सल्लाहकार नारायण खड्का, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सन्त नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?