तनहुँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले अनुदार व्यवहार देखाएको भन्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले छलफल कार्यक्रम गरेको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु लगायतका विषयमा छलफल गरिएको हो ।
त्यस्तै, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार अनुदार बनेको भन्दै सहभागीले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष उज्वल पौडेलले वर्तमान सरकारले मिडियालाई बन्द गराउने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले आर्थिक तथा कानुनी रूपमा मिडियालाई बन्देज लगाउने प्रयत्न भइरहेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए ।
पूर्वअध्यक्ष ओमकार आचार्यले सरकार विधि र कानुनअनुसार नचलेको बताए । प्रेसलाई तर्साउने र संविधानलाई कमजोर बनाउने प्रयत्न भइरहेको उल्लेख गर्दै उनले कुनै न कुनै माध्यमबाट सञ्चारमाध्यमलाई कमजोर बनाएर प्रेसको मुख थुन्ने काम भइरहेको बताए ।
प्रेस सेन्टर गण्डकी प्रदेश सचिव एसबी नेपालीले वर्तमान सरकार प्रेसप्रति अनुदार रहेको भन्दै आन्दोलनलाई थप कडा बनाउन सुझाव दिए ।
प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठले सरकारले प्रेसलाई संकुचित गर्न खोजेको बताए । प्रेस युनियन तनहुँका उपाध्यक्ष पूर्ण विकेले प्रेस स्वतन्त्रताको पक्षमा सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनप्रति पूर्ण एक्यबद्धता जनाए ।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यमको निर्बाध सञ्चालन र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?