देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी,बागमती र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भइरहेको छ।
वर्षा र बाढीले क्षति पुर्याउन सक्ने भन्दै तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।विभागको बाढी सूचना केन्द्रका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा पछिल्लो ५ घन्टादेखि भारी वर्षा भइरहेको छ।
सूचना केन्द्रले बिहिबार बिहान साढे ५ बजे जारी गरेको एसएमएस अलर्ट अनुसार ती क्षेत्रमा थप वर्षा हुनसक्ने भन्दै पसाहा खोला, दुधौरा खोला लगायतका अन्य साना खोलामा आकस्मिक बाढी आउने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै पर्साको ठोरी, मकवानपुरको हेटौडा, चितवनको शक्तिखोर, गोविन्दबस्ती (माडी क्षेत्र) लगायत नवलपरासी, रूपन्देही, कास्की र आसपासका केही स्थानमा वर्षा भइरहेको र थप वर्षा हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?