दमौली : ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभर्इ वैज्ञानिक महत्व पनि ठूलाे छ ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पाेषिलाे खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि याे खाने प्रचलन बसेकाे बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पाेषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै माैसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
नेपालमा मात्रै हाेइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?