अनियन्त्रित भई गाडी पल्टिँदा १० जना घाइते, पुरानो मेडिकल कलेजमा उपचार हुदै

चितवन : चितवनमा गाडी अनियन्त्रित भई पल्टिँदा १० जना घाइते भएका छन् । आज शुक्रबार बेलुका ६ः३० बजेको समयमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोकस्थित हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०१७१ नम्बरको विग्नर गाडी आफैँ अनियन्त्रित भई पल्टिँदा चालकसहित १० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा गोरखाको आरुघाट गाउँपालिका १ बस्ने २३ वर्षीय आशवीर गुरूङ, दार्चुला महाकाली नगरपालिका ३ बस्ने ३६ वर्षीय शेरसिंह महरा, भरतपुर महानगरपालिका १३ बस्ने २३ वर्षीया समीक्षा निरौला, लमजुङको बेसीशहर नगरपालिका १ बस्ने २७ वर्षीय सोसन गुरूङ, माडी नगरपालिका ५ बस्ने २३ वर्षीय सागर बोट रहेका छन् ।
यसैगरी, रौतहटको परोहा नगरपालिका ६ बस्ने २३ वर्षीय अमरनाथ जैसवाल, मकवानपुरको हेटौँडा उपमहानगरपालिका १३ बस्ने २७ वर्षीय सुनिल रिमाल, विंग्नर गाडीका चालक नवलपरासीको देवचुली नगरपालिका १ बस्ने ४१ वर्षीय तीनबहादुर विक, भरतपुर महानगरपालिका १२ बस्ने ४० वर्षीया उषा डंगोल र तनहुँ घर भई हाल भरतपुर महानगरपालिका १२ बस्ने २५ वर्षीय नवीन केसी रहेका छन् ।
अहिले घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सडकमा कुनै अवरोध नरहेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराको टोली खटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?