नवलपुरमा थपिए एक हजार भन्दा बढी नयाँ उद्योग

कावासोती : नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् ।

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठ वटा लघु, चारवटा घरेलु र एक हजार ३८ वटा साना उद्योग रहेको छन् । जिल्लामा थपिएका उद्योगहरुमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित उद्योग रहेको उनले बताए । यो बाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताए । ‘नवलपुरमा उद्योगहरु थपिने क्रम तीव्र छ, कोभिडको अवस्थामा उद्योग दर्ता केही कमी आएको भएपनि अहिले फेरि नयाँ उद्योग थपिने क्रम धेरै रहेको छ’ ।

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योगमात्रै ६३८ वटा रहेका छन् । यस बाहेक सेवामूलक २६५, उत्पादनमूलक ८२, पर्यटन ६४ र ऊर्जामूलक उद्योग एक थपिएका छन् ।कार्यालय प्रमुख खनालले भने,‘कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र, नारायणी तटीय क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटनको सम्भावना भएकाले पनि यस प्रकृतिका उद्योग धेरै खुल्ने गरेका छन् । राज्यले कृषि तथा पशुपालनमा दिने अनुदानले युवाहरुको आकर्षणसमेत यस्तो भएको हुन सक्छ ।’ पूर्वपश्चिम राजमार्गको मध्यमाग, भारतीय सीमाबाट नजिक भएकाले पछिल्लो समय उत्पादनमूलक उद्योगसमेत नवलपुरमा आकर्षित हुन थालेका छन् ।

देशकै मध्यभागमा रहेको जिल्ला भएकाले यहाँबाट उत्पादन गरिएका सामग्री सहजै अन्य ठाउँमा लैजान सकिने हुँदा नवलपुरमा उत्पादनमूलक उद्योगको आकर्षण बढ्दो रहेको छ ।

गत आर्थिक वर्षमा एक हजार ५० उद्योग थपिएसँगै नवलपुरमा स्थापना भएका उद्योगको संख्या ६ हजार ३०९ पुगेको छ । जसमध्ये कुल १७ वटा लघु उद्योग, २४ वटा घरेलु उद्योग र ६ हजार २६८ वटा साना उद्योग रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा रहेका उद्योग मध्ये छ हजार ८६ प्राइभेट फर्म, ११३ साझेदारी फर्म र ११० वटा उद्योग प्रालि कम्पनीअन्र्तगत स्थापना भएका छन् भने, वाणिज्यतर्फ नवलपुरमा गत आर्थिक वर्षमा जम्मा एक हजार १५८ वटा व्यवसाय थप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?